ठाकुरबाबा । शैक्षिक गुणस्तर सुधारका लागि ठाकुरबाबा नगरपालिकाले प्रधानाध्यापकलाई थप सुविधा दिएको छ । नगरपालिकाले प्रधानाध्यापकको मनोबल उच्च राख्नका लागि भन्दै संघिय सरकारले दिदैँ आएको आएको भत्तामा थप भत्ता दिएर सुविधा थप गरेको छ ।
पालिकाले संघिय सरकारले उपलब्ध गराउँदै आएको प्रधानाध्यापकको माध्यामिक तहको भत्तामा छ सय प्रतिशत वृद्धि गरी मासिक तीन हजार रुपैयाँ , आधारभूत तहमा आठ सय ३३ प्रतिशत वृद्धि गरी २५ सय रुपैयाँ, प्राथमिक तहमा एक हजार प्रतिशत वृद्धि गरी दुई हजार रुपैयाँ प्रधानाध्यापकलाई भत्ता दिने निर्णय गरेको छ । प्रधानाध्यपकलाई दिइने थप सेवा सुविधाले कुशल नेतृत्व र जबाफदेहिता अभिवृद्धि होस भनेर सेवासुविधा थप गरेको नगरप्रमुख तिलकराम लम्सालले बताउनु भयो ।
प्रधानाध्यापकबाट विद्यालयमा नवप्रवर्तनात्मक कार्य गर्न रु ६ लाख बजेट प्रस्ताव गरी सो को कार्यान्वयनका लागी विद्यालयहरूबाट प्रस्तावना माग गर्ने निर्णय समेत गरिएको उपप्रमुख बिना भट्टराई बताउनु भयो । उहाँले भन्नुभयो–“यसरी सृजनात्मक एवं नवप्रवर्तनात्मक कार्य गर्नका लागि विद्यालयहरूले बजेट तथा अन्य आवश्यक सहायता प्राप्त गर्ने छन् । जसले नविनतम् पद्धतिको अवलम्बन गर्दै, समग्र शिक्षाको गुणस्तर वृद्धि गर्नमा अहम् भूमिका खेल्ने विश्वास लिएका छौँ ।” पालिकाभित्र रहेका नौ वटा माध्यामिक विद्यालयका प्रधानाध्यापकलाई पालिकाले सेतो प्लेटको मोटरसाइकल दिएको छ ।








