बारबर्दिया ।
बर्दियाको बारबर्दिया नगरपालिका वडा नं ९ कतर्नियामा आयोजना गरिएको एक दिने पशु स्वास्थ्य शिविरमा दुई सय तीन जना किसानको एक हजार चार सय ३५ ओटा पशुपंक्षीको उपचार गरिएको छ ।
शिविरमा पाँचसय तीन ओटा बाख्रा, ६५ ओटा गाई भैंसी, ४० ओटा बंगुर, र आठ सय २७ ओटा कुखुरा र हाँसको उपचार गरिएको थियो । त्यसैगरी ९८ जना किसानलाई प्राविधिक सल्लाह समेत दिइएको बारबर्दिया नगरपालिकाका पशुसेवा शाखाका प्रमुख दिपक राज थापाले बताउनु भयो । उहाँले शिविरमा पशुपंक्षीहरूको स्वासथ्य जाँच, परिजिवि नियन्त्रण, भ्याक्सिन लगाएतका सुविधा दिईएको बताउनु भयो ।
किसानलाई गाउँ गाउँमा सेवा दिने उद्देश्यले पशु स्वास्थ्य शिविर राखिएको बारबर्दिया नगरपालिकाका नगरप्रमुख छविलाल थारूले बताउनु भयो । उहाँले नगरपालिकाले सञ्चालन गरेका पशु उपचार केन्द्रबाट नियमित सेवा लिई लाभ लिनका लागि किसानहरूलाई अनुरोध गर्नुभयो ।
बारबर्दिया नगरपालिका र हेफर इन्टरनेशनलको आर्थिक सहयोगमा थारू महिला उत्थान केन्द्रको सहजीकरणमा शिविर सञ्चालन गरिएको थियो ।








