यज्ञप्रसाद सापकोटा
बर्दिया ।
बर्दियाको गुलरिया नगरपालिका वडा नं ४ तुल्सीपुरमा रहेको ध्रुब माध्यमिक विद्यालय तीन तारा घोषणा भएको छ । विद्यालयमा आज एक कार्यक्रमको आयोजना गरि विद्यालयलाई तीन तारा घोषणा गरिएको हो ।
कार्यक्रममा गुलरिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत शतिस कुमार यादवले विद्यालयलाई तीन तारा घोषणाको प्रमाणपत्र प्रदान गर्नु भएको छ । सरकारले विद्यालय तहको खानेपानी सरसफाइ र स्वच्छताको सुधार गरी विद्यालय शिक्षाको गुणस्तरीयता कायम गर्ने उद्देश्यले २०७४ सालमा कार्यविधि ल्याएको थियो । नेपाल सरकारको विद्यालय खानेपानी सरसफाइ तथा स्वच्छता कार्यविधि २०७४ अनुरुप नगरपालिकाले कार्यविधि बनाएको र सोही अनुरुप तीन तारा घोषणा गरिएको हो ।
तीन ताराको स्तरमा पुगेको विद्यालयमा विद्यार्थी संख्याको अनुपातमा पहुँच युक्त सुरक्षित खानेपानी र शौचालयको सुविधा, विद्यालयमा फोहोरमैला व्यवस्थापन, साबुन पानीले हात धुने सुविधा, विद्यालयमा फुलवारी बगैँचाको व्यवस्था, दिवा खाजाको व्यवस्था गरिएको हुन्छ । त्यसैगरी विद्यालयमा सरसफाइ युक्त व्यवहार परिवर्तनका साथै खानेपानी सरसफाइ मर्मत सम्हार कोषको समेत व्यवस्था गरिएको हुनुपर्दछ ।
तीन तारा घोषणा कार्यक्रममा बोल्दै निमित्त प्रमुख प्रशासकिय अधिकृत यादवले तीन तारा घोषणा सँगै विद्यालय शिक्षाको गुणस्तरीयतामा पनि सुधार आउने बताउनु भयो । गुलरिया नगरपालिका वडा नं ४का वडाध्यक्ष सुरेश गौतमले तीन तारा घोषणा भइसकेपछि विद्यालयको खानेपानी सरसफाई र स्वच्छतामा अझ सुधार ल्याइ ताराको स्तर घट्न दिन नहुने बताउनु भयो ।
बर्दियामा नेपाल सरकारको कार्यविधि अनुसार बेस बर्दियाको सहकार्यमा पाँच ओटा स्थानीय तहमा गुलरिया, बारबर्दिया, ठाकुरबाबा र मधुवन नगरपालिका र गेरुवा गाँपालिकाले विद्यालय खानेपानी सरसफाइ तथा स्वच्छता कार्यविधि बनाई लागु गरेको थियो । ३३ ओटा विद्यालयमा कार्यविधि लागु गरिएकोमा १२ ओटा विद्यालय मापदण्ड पुरा गरि तीन तारा घोषणा भइसकेका छन् ।
वाटर एड नेपालको आर्थिक सहयोगमा नेपाल प्रजनन स्याहार केन्द्र र राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालको प्राविधिक सहयोगमा बेस संस्था द्वारा वास गेन्स परियोजना सञ्चालनमा रहेको छ । सो परियोजनाले नेपाल सरकारको मापदण्ड अनुसार जिल्लाका विद्यालयको खानेपानी सरसफाई र स्वच्छता कायम गर्न काम भइरहेको छ ।








