प्रयास श्रेष्ठ । नेपालको राजनीतिमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने जनताको अभिमतबाट देशकै सशक्त पार्टीको रुपमा कहलिएको नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औ राष्ट्रिय महाधिवेशन यही २०८२ मार्ग २७ देखि २९ गते सम्पन्न हुनु पर्नेमा दुई दिन पश्चात लोकतान्त्रिक विधिबाट भव्य तथा सभ्य रुपमा सफल भएको सकारात्मक टिप्पणी सुनिएको छ । यो नेकपा (एमाले) का कार्यकर्ता तथा नेताहरूको लागि सुखद समाचार हो ।
२०७९ को निर्वाचन पश्चात संसदीय अंक गणीतको हिसाबले नेपाली काँग्रेसको सरकारलाई समर्थन गरेर ५ वर्ष सरकार चलाउन दिनु पर्थ्याे । त्यस्तै आशयका साथ संविधानमा पनि व्यवस्था गरिएको थियो । विडम्बना, अर्काको धापलाई न्यानो मान्दै वा सत्तामोहको चरम स्वार्थमा सरकार गिराउने र बनाउने खेलमा पार्टीहरू लाग्दा नागरिकहरूमा नेताप्रति अविश्वास र राजनीतिप्रति वितृष्णा जाग्यो । फलस्वरुप, भाइ फुटे गँवार लुटे भन्ने उखान नेपालको राजनीतिमा चरितार्थ हुन पुग्यो । जसलेगर्दा, भाद्र २३ र २४ गतेको अत्यन्त दुखदायी घटना घटित भयो । रूपान्तरण, हस्तान्तरण र परिवर्तनका ठूला स्वरहरू घन्किन थाले चारैतिर । नेकपा (एमाले) को अध्यक्ष र पार्टी माथि सबैभन्दा ठूलो दबाबमा सिर्जना हुन थाल्यो । पार्टी भित्रैबाट पनि नेतृत्व परिवर्तनको कुरा उठ्न थाल्यो भने देशभित्रका अन्य पार्टी र वाह्य शक्तिपनि नेकपा एमालेमा ठूलो उलट पलट गर्न चाहन्थ्यो ।
देशमा २३ गते जेन–जेडको नाममा आन्दोलन शुरु भयो । २३ गतेको आन्दोलनमा जेन–जेडले उठाएका मागहरू सान्दर्भिक थिए । तर, आन्दोलनमा घुसपैठ भई अराजकता तिर मोडीएकोले आन्दोलन स्थगन गरी सबैलाई घरफर्कन आह्वान गर्दै जेनजीले आन्दोलन फिर्ता लिएको घोषण गर्यो । तर, २४ गते जुन प्रकारको जघन्य घटना घटाइयो त्यो इतिहासको कालखण्डमा पनि कालो दिनको रुपमा चित्रित भइरहने छ । त्यो दिन आन्दोलनको नाममा नेपाल आमाको चिरहरण गरेको दिन हो भन्दा अतिशयोक्ति नहोला । खेल वाह्य हुनसक्छ तर कारण घरभित्रै हुन्छ । यदि हामी ठिक भएको भए बाहिरको मान्छेले हाम्रो घरभित्रै पसेर प्रहार गर्न सक्दैन थियो । यसर्थ, गणतन्त्र प्राप्ति पश्चात देशका पार्टीहरुमा देखिएको विकृति, विसंगती, अराजनैतीक चरित्र, सुशासनको कमि, भष्ट्राचार आजको अवस्था आउनुका कारण हुन भने सामाजिक सन्जाल त मात्र बहाना थियो । तत्कालिन सरकारले समयको बस्तुगत विश्लेषण गर्न नसक्दा कूटनैतीकरुपमा असंलग्न परराष्ट्र नीतिमा चुक्न गयो र भू राजनीतिको मार खेप्नु प¥यो । केही घण्टाको चपेटमा जनताको लामो आन्दोलन र वलिदानी पश्चात प्राप्त गणतन्त्रको सत्ता गल्र्याम्म ढल्न गयो । संविधानले नचिनेको सरकार स्थापित भयो । आजपनि लोकतान्त्रिक गणतन्त्र मात्र होईन देशको सार्वभौमिकता माथि नै खतरा मडराईरहेको भान भईरहेको छ ।
कारण जे भएपनि, एमालेका अध्यक्ष केपि ओलीले राष्ट्रको सार्वभौमिकताको रक्षार्थ, देशको सिमा सुरक्षाको वारेमा वोल्दा, छिमेकी मुलुकहरु संग भूगोलमा देश सानो र गरिब भएपनि सार्वभौम राष्ट्रको हिसाबले हामी बरावर हौ भन्ने उद्घोष गर्नाले साम्राज्यवादी र विस्तारवादी राष्ट्रहरुले सम्मानमा आँच पुगेको महशुस गरे । बदलास्वरुप, सशक्तरुपमा रहेको पार्टी नेकपा एमाले र यस पार्टीको अध्यक्षलाई कमजोर बनाउन आफ्ना बुख्याँचा मार्फत सामाजीक सन्जाल द्वारा गोयबल्सशैलीमा एमालेको नेतृत्व र पार्टीप्रति धावा वोल्न लगाईयो । जानी नजानी वाह््य आक्रमणको रणनीतिलाई सहयोग पुग्नेगरी पार्टीभित्र पनि समयको माग भन्दै नेतृत्व परिवर्तनको कुरा उठ्यो । नेतृत्व परिवर्तन प्राकृतिक कुरा थियो । जायज पनि हुन सक्थ्यो । तर, परिस्थिति फरक थियो । यसर्थ, साम्राज्यवादी र विस्तारवादीको खेललाई परास्त पार्न वा नेतृत्व माथि प्रहार भईराख्दा नेतृत्वको रक्षार्थ महाधिवेशनका बहुमत प्रतिनिधिहरुले आवाज वुलन्द गरे ।
विद्युतिय मतदानबाट निर्वाचन सम्पन्न भयो । परिणाम आयो, पुनः नेता केपी ओली शर्मा तेस्रो पटक नेकपा एमालेको नेतृत्व समाहल्नको लागि मतदाताहरुबाट अनुमोदित हुनु भयो । स्वच्छ प्रतिस्पर्धामा उर्तिनु भएका ईश्वर पोखरेल, सुरेन्द्र पाण्डे ले सदायशताका साथ जिम्मेवारी पाँएमा पार्टीलाई सशक्त बनाउन लागि रहने वचनवद्धता व्यक्त गर्नु भयो । योगेश भट्टराईले अब अध्यक्षसंग कुनै प्रकारको वार्गेनिङ्ग नगरी पार्टीलाई बलियो बनाउन लाग्ने उद्घोष गर्नु भएको छ । झर्ला र खाउला भन्ने दाँउमा रहेका अमुक पार्टीहरू “हिस्स बुढी, खिस्स दाँत” भएका छन । उँहाहरुको सदायशतापूर्ण प्रस्तुति पश्चात अब अध्यक्ष कमरेडले सबैलाई मिलाएर लगेमा नेकपा एमाले संगठित मात्र र्होइन, यो देशकै सबैभन्दा सशक्त र एक नम्वरको पार्टी बन्न कसैले रोक्न सक्दैन ।
योगेश भट्टराईकै शव्द सापट लिने हो भने संस्थापन पक्षसंग मत घटाउने बढाउने सुविधा हुन्छन भन्ने भनाईलाई स्विकार गर्दै विधान महाधिवेशनबाट बनेको विधान केन्द्रीय महाधिवेशनमा परिवर्तन गरिनुले थोरै भएपनि विधि मिचिएको हो की भन्ने जनमानसमा परेको छ । अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, केशव बडाल, काशीनाथ अधिकारी जस्ता नेताहरुले महाधिवेशनको मुखैमा अवकाश लिदा शंकाहरु उव्जिएका छन । शालिन, भद्र नेता प्रदीप ज्ञवाली दुखि हुनु निश्चितरुपमा राम्रो मानिएको छैन । पार्टीको केन्द्रीय कमिटीमा आउनु पर्ने धेरै नेताहरु वन्चित भएकोले गुटगत परिणाम नै हो भन्ने भान सबैलाई भईरहेको छ । संगठनलाई सुढृढ र सशक्त बनाउन, सैद्धान्तिक, वैचारीक बहस तथा छलफलको लागि, पार्टी जीवनमा अन्तर सम्वाद समुह हुन्छ नै । तर, त्यो समुह सांगठनिक फाईदा र नेतृत्वलाई सहि दिशामा हिडाउनका लागि दवाब समुहको रुपमा हुनु पर्छ ।
विभिन्न आरोह–अवरोहका वावजुद नेकपा (एमाले)को ११ औं महाधिवेशन लोकतान्त्रिक विधिबाट सभ्यरुपमा सम्पन्न भएको छ । अब हुने केन्द्रीय कमिटीकोे बैठकबाट कामकाजको बाँडफाँट हुने नै छ । केन्द्रीय कमिटीमा ल्याउनु पर्ने तर छुटेका कमरेडहरुलाई समेटने कार्य अध्यक्ष कमरेडबाट हुने विश्वास छ । अब, विगतका वा अधिवेशनमा घटित घटनाहरुलाई सबैले विर्सेर, म म भन्दै पार्टी जीवनलाई चलायमान र सुढृढ बनाउन एकमनाका साथ सबै लाग्नुनै पर्छ । अध्यक्ष कमरेड सबै कार्यकर्ताहरुको अभिभावक हो । अभिभावकिय भूमिकामा खरो उतर्नु हुने छ भन्ने विश्वास सबैले लिनु पर्छ ।
ठूला–ठूला शक्ति राष्ट्रहरुको दवाबलाइृ कुटनीतिक रुपमा समाधान र सरलीकरण गर्दै जानुका साथै, अध्यक्ष कमरेडको काँधमा नेपालको सार्वभौमकीता, अखण्डताको रक्षा गर्दै, पार्टीले देखेको “सुखि नेपाली ः समृद्ध नेपाल” को सपनालाई साकार बनाउने महत्वपूर्ण जिम्मेवारी रहेको छ । अध्यक्ष कमरेड र पार्टीले लिएको उदेश्य पुरा गर्न पार्टीभित्र आत्मिय र विश्वासिलो वातावरण, भावनात्मक एकता र संस्थागत कार्यव्यवहार अपरिहार्य रहन्छ । कुनैपनि संगठनको केन्द्रीय कमिटी ऐना सरह हुन्छ । हरेक कार्यकर्ताले कमिटी तर्फ हेर्दा आफ्नो अनुहारपनि त्यसमा देख्यो भने निश्चितरुपमा पार्टीलाई सशक्त र सुढृढ संगठीत बनाउन कसैले रोक्न सक्दैन । लोकतान्त्रिक गणतन्त्रलाई सुढृढ र सबल बनाउने, संविधानले निर्दिष्ट गरेका कार्य अभिभारा पूर्ण गर्ने, जेन–जेडले उठाएका सान्दर्भिक मागहरू कार्यान्वयन गर्ने, गरीवीको रेखालाई छोटो बनाउने, देशभित्र रहेको स्रोतहरुको उत्खनन् गर्ने यावत जिम्मेवारी नेकपा एमालेको काँधमा रहेको छ । यि सबै जिम्मेवारी पुरा गर्न एकता आवश्यकता हुन्छ भन्ने हेक्का हामी सबैमा रहोस ।
लेखक नेकपा एमालेका जिल्ला कमिटी बर्दियाका कार्यालय सचिव हुनुहुन्छ । लेख उहाँकाे नितान्त निजि विचार हाे ।








