यज्ञप्रसाद सापकोटा/बर्दिया ।
बर्दिया जिल्लामा सडक दुर्घटनामा परि विगत पाँच महिना यता १८ जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्षको साउन देखि मंसिर महिना सम्ममा भएका चार सय ९३ ओटा सवारी दुर्घटनामा परि १८ जनाको मृत्यु भएको हो ।
सडक दुर्घटनाबाट मृत्यु हुनेमा सबै भन्दा बढि पुरुष १४ जना रहेका छन् भने महिला चार जना रहेका छन् । दुर्घटनाबाट दुई सय ६४ जना शक्त घाइते भएका छन् भने तीन सय १४ जना सामान्य घाइते भएका छन् । पाँच महिनाको अवधिमा सबैभन्दा बढी असोज महिनामा एक सय ५१ ओटा सवारी साधन दुर्घटना भएका छन् । त्यसैगरी कार्तिकमा एक सय नौ, भदौमा ८२ , मंसिरमा ७८ र साउनमा ७३ ओटा सडक दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय बर्दियाको तथ्याङ्क रहेको छ । त्यसैगरी मंसिरमा पाँच, असोज र कार्तिकमा चार ÷चार, साउनमा तीन र भाद्रमा दुई जनाको दुर्घटनामा परि मृत्यु भएको तथ्याङ्क रहेको छ ।
तुलनात्मक रुपमा हेर्ने हो भने सडक दुर्घटनाबाट मृत्यु हुनेको संख्या बढ्दै गएको कार्यालयको तथ्याङ्क रहेको छ । गत आर्थिक वर्ष २०८१÷८२ मा सडक दुर्घटनामा परि ३८ जनाको मृत्यु भएको थियो भने अघिल्लो आर्थिक वर्ष २०८०÷८१ मा २६ जनाको सडक दुर्घटनामा परि मृत्यु भएको थियो ।
सडक दुर्घटना बढेसँगै जिल्ला ट्राफिक कार्यालय बर्दियाले सवारी चेकजाँच र अनुगमनको कार्य पनि बढाउँदै गएको छ । चालु आर्थिक बर्षको मंसिर मसान्त सम्ममा दुई हजार छ सय ६९ ओटा सवारी साधन कारवाहीमा परेका छन् । ट्राफिक नियम पालना नगरी सवारी साधन चलाएका, कागजपत्र नबोकी सवारी चलाएका चालक तथा सवारी धनीहरू कारवाहीमा परेका जिल्ला ट्राफिक कार्यालय बर्दियाका प्रमुख एवं प्रहरी निरीक्षक सन्दिप बेल्वासेले खबर सन्देशलाई बताउनु भयो । उहाँले पाँच महिनाको अवधिमा सवारी साधन कारवाहीबाट २१ लाख ६३ हजार पाँच सय रुपियाँ जरिवाना स्वरुप राजश्व असुल गरिएको बताउनु भयो । सबैभन्दा बढि कारवाहीमा पर्ने सवारी साधन मोटरसाइकल रहेको छ । ट्राफिक प्रहरीले नौ सय ९९ मोटरसाईकल कारवाहीबाट पाँच लाख ५९ हजार पाँच सय रुपियाँ राजश्व असुली गरेको छ ।
सडक दुर्घटना न्यूनीकरण गर्न र ट्राफिक नियम पालना गराउनका लागि ट्राफिक प्रहरी कार्यालय बर्दियाले सचेतना मूलक कार्यक्रम समेत गर्दै आएको छ । सडक प्रयोगकर्तालाई विभिन्न ठाउँमा गई ट्राफिक सचेतनाका तालिम दिने, विद्यालयमा विद्यार्थीहरूलाई ट्राफिक नियमका बारेमा सचेतना मूलक कार्यक्रम गर्दै आएको प्रमुख बेल्वासेले बताउनु भयो ।








