यज्ञप्रसाद सापकोटा/बर्दिया ।
चार वर्ष देखि अलपत्र अवस्थामा रहेको मधुवन नगरपालिकाको कुसुम्बाबाजार देखि नगरपालिका कार्यालय जोड्ने सडक कालोपत्रे भएको छ । पटक पटक म्याद थप गर्दा समेत काम नगरेर हैरान पारेको निर्माण कम्पनीले अन्ततः कालोपत्रे गरेको छ ।
२०७९ बैशाखमा नालि सहितको कालोपत्रे सडक निर्माणका लागि महादेव खिम्ती निर्माण सेवासँग निर्माण सम्झौता भएको थियो । करिब दुई करोड ६५ लाखमा ९६५ मिटर लामो, १० मिटर चौडा सडक र नालि निर्माण गर्नका लागि २०८१ असार सम्म निर्माण गर्ने गरी सम्झौता भएको थियो । तर निर्माण कम्पनीले समयमा काम नगरी अलपत्र छोड्दा स्थानीयले दुःख पाएका थिए । तीन पटक म्याद थप गरेर पटक पटक ताकेता गरेपछि सडक कालोपत्रे भएको मधुवन नगरपालिकाका इन्जिनियर सौरभ रेग्मीले बताउनु भयो । उहाँले सुरुमा विद्युतको पोल सार्दा केही समय लागेपनि कुनै वाधा अवरोध नहुँदा समेत सडक निर्माणमा ढिलाई भएको बताउनु भयो ।
काम नगरेमा ठेक्का नै तोड्ने तयारी गरेपछि मात्र सडक निर्माण भएको मधुवन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले बताउनु भयो । “लामो समय देखि काम नगरी अल्झाएर राखेको सडक भएकोले सरुवा भएर आउन साथ प्रेसर दिन थालें यसमा नगरप्रमुखले नी साथ दिनु भयो ।” उहाँले भन्नु भयो– “अहिले काम भएको छ । काम नगरेको भए सम्झौता तोड्ने तयारी थियो ।”
प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले नगरपालिका भित्रका अरु म्याद नाघेका रुग्ण ठेक्का पनि काम गर्नका लागि निर्माण कम्पनीलाई दवाव दिइरहेको बताउनु भयो । उहाँले भन्नु भयो – “जनप्रतिनिधिले पनि साथ दिनु भएको छ । सम्झौता गरेर निर्माण नगर्ने ठेक्का कि काम हुन्छ कि तोडिन्छ ।”
मुख्य निर्माण व्यवसायीले अर्को स्थानीय निर्माण व्यवसायीलाई जिम्मा दिएको कारणले निर्माणमा ढिलाई भएको बुझिएको नगरप्रमुख तेजबहादुर भाटले बताउनु भयो । अर्को निर्माण व्यवसायीलाई जिम्मा दिएपछि सहज रुपमा निर्माण भएको उहाँले बताउनु भयो । उहाँले हाल मधुवन नगरपालिका वडा नं १ मा २७ सय मिटर र नगरपालिका अगाडिको ९६५ मिटर सडक कालोपत्रे भएको बताउनु भयो
सो सडक निर्माण नहुँदा स्थानीयवासीहरूले पटक पटक विरोध गरेका थिए । अन्य स्थानका सडक निर्माण हुँदा समेत नगरपालिका कार्यालय अगाडिको सडक निर्माण नहुँदा नगरपालिका आलोचित भइरहेको थियो ।








