बर्दिया ।
बर्दियामा प्रतिनिधि सभाका निर्वाचनका लागि उम्मेदवारी दिएका तीन जनाले उम्मेद्वारी फिर्ता लिएका छन् भने एक जना उम्मेदवारको उम्मेदवारी खारेज भएको छ ।
बर्दिया क्षेत्र नं १ मा प्रगतीशिल लोकतान्त्रिक पार्टीका उम्मेद्वार राजु रानाभाटले उम्मेदवारी फिर्ता लिनु भएको छ । क्षेत्र नं २ मा प्रगतीशिल लोकतान्त्रिक पार्टी कै उम्मेदवार नेत्रराज आचार्य र स्वतन्त्र उम्मेदवार नुतन कुमार चौधरीले उम्मेद्वारी फिर्ता लिनु भएको छ । त्यसैगरी आम जनता पार्टीका उम्मेद्वार रामेश्वर चौधरीको उम्मेदवारी खारेज भएको छ । चौधरीको नाम सरकारी निकायमा कालोसुचि रहेकोले उम्मेद्वारी खारेज भएको बर्दिया क्षेत्र नं २ निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उम्मेदवारी खारेजी पछि बर्दिया क्षेत्र नं २ मा १५ जना उम्मेदवार विच प्रतिस्पर्धा हुने भएको छ । १५ जना मध्ये नेकपा एमालेबाट विमला वि.क. र नेपाल कम्युनिष्ट पार्टी(संयुक्त)बाट निता शर्मा महिला उम्मेदवार रहेका छन् ।
बर्दिया क्षेत्र नं १ मा एक जनाको उम्मेदवारी फिर्ता भएपछि २१ जना उम्मेद्वार विच प्रतिस्पर्धा हुने भएको छ । २१ जना उम्मेदवार मध्ये नेपाल मजदुर किसान पार्टीबाट पवित्रा शाही, , नेपाल जनमुक्ति पार्टीबाट चन्द्रा कुमारी राजगुरु र मंगोल नेशनल अर्गनाईजेसनबाट ज्योती योन्जन गरि तीन जना महिला उम्मेदवार रहेका छन् ।








