भुरीगाउँ, बर्दिया
बर्दियाको भुरीगाउँमा सञ्चालन भइरहेको दोस्रो ठाकुरबाबा प्रादेशिक महोत्सवमा आफ्नो सांगीतिक प्रस्तुति दिन आइपुगेका चर्चित लोक कलाकार कमल बिसी 'माल्दाइ'ले वन्यजन्तु पीडितलाई आर्थिक सहयोग प्रदान गर्नुभएको छ ।
बिसीले महोत्सवको मञ्चबाटै वन्यजन्तुको आक्रमणबाट प्रभावित भएका पीडित परिवारको घाउमा मल्हम लगाउने उद्देश्यले नगद १० हजार रुपैयाँ सहयोग हस्तान्तरण गर्नुभएको हो । सहयोग रकम प्रदान गर्दै कलाकार बिसीले आफू पनि वन्यजन्तु पीडित भएको स्मरण गराउनुभयो ।
"म आफैँ पनि निकुञ्जबाट पीडित भएको व्यक्ति हुँ, त्यसैले उहाँहरूको दुःख र पीडालाई मैले नजिकबाट महसुस गर्न सक्छु", कलाकार बिसीले भन्नुभयो,"यो सानो सहयोगले पीडितको परिवारमा थोरै भए पनि राहत पुग्ने र सामाजिक उत्तरदायित्व पूरा हुने मेरो विश्वास छ ।"
बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रका बासिन्दाहरूले लामो समयदेखि मानव–वन्यजन्तु द्वन्द्वको सामना गर्दै आइरहेका छन्। महोत्सवको रौनकताका बीच कलाकारले देखाएको यो मानवीय संवेदनशीलतालाई स्थानीय बासिन्दा र आयोजक समितिले उच्च प्रशंसा गरेका छन् ।
पर्यटन प्रवर्द्धन र स्थानीय कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले सञ्चालित यस महोत्सवमा बिसीको सांगीतिक प्रस्तुतिसँगै यो परोपकारी कार्यले थप चर्चा पाएको छ ।








