यज्ञप्रसाद सापकोटा,बर्दिया/सहजै बाघ देख्न सकिने निकुञ्जको रुपमा चिनिएको बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा बृद्धि भएको छ । अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक बर्ष २०८१ /८२ मा करिब दुई हजार जना पर्यटक बढी भित्रीएका छन् ।
गत आर्थिक बर्ष २०८१/८२ मा २८ हजार ६७ जना पर्यटक निकुञ्ज प्रवेश गरेका छन् । भने अघिल्लो आर्थिक बर्ष २०८०/८१ मा २६ हजार एक सय ३१ जना पर्यटक प्रवेश गरेका थिए । कोरोना काल यता हरेक बर्ष निकुञ्जमा प्रवेश गर्ने पर्यटकको संख्यामा बृद्धि हुँदै गएको छ ।
गत आर्थिकबर्षमा निकुञ्जमा नेपाली १९ हजार १०, सार्क मुलकका एक हजार पाँच सय ४० र विदेशी सात हजार पाँच सय १७ जना प्रवेश गरेका छन् । अघिल्लो आर्थिक बर्ष २०८०/८१ मा नेपाली १८ हजार १०, सार्क मुलुक एक हजार चार सय ३७ र विदेशी ६ हजार ६ सय ४८ जना निकुञ्ज प्रवेश गरेका थिए । आर्थिक बर्ष २०७९/८० मा नेपाली १६ हजार ७ सय ८६ जना सार्क मुलुक एक हजार दुई सय २८ जना र विदेशी ६ हजार तिन सय ८४ जना गरी २४ हजार तिन सय ९८ जना पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए । निकुञ्जको तथ्याङ्क हेर्दा विगत् तीन बर्ष यता नेपाली विदेशी र सार्कमुलुकका पर्यटकको संख्यामा बृद्धि भइरहेको देखिन्छ ।
संख्यामा बृद्धि भए सँगै पर्यटक प्रवेशबाट उठ्ने राजश्वमा समेत वृद्धि भएको छ । आर्थिक बर्ष २०८१/८२ मा पर्यटकहरुबाट मात्र तीन करोड २६ लाख राजश्व निकुञ्जमा उठेको देखिन्छ । आर्थिक बर्ष २०८०/८१ दुई करोड ८४ लाख राजश्व पर्यापर्यटनबाट प्राप्त भएको छ । आन्तरिक पर्यटकलाई निकुञ्ज प्रवेश गर्न रु एक सय, सार्क मुलुकका पर्यटकलाई रु सात सय ५० र अन्य मुलुकका पर्यटकका लागि रु एक हजार ५ सय शुल्क लाग्ने गरेको संरक्षण अधिकृत एव सुचाना अधिकारी सराेजमणी पाैडेलले खबर सन्देशलाई बताउनु भयो ।
पछिल्लो समयमा निकुञ्जमा भ्रमण गर्न आउने नेपाली पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख वरिष्ठ संरक्षण अधिकृत अशोक कुमार रामले बताउनु भयो । उहाँले भन्नु भयो –‘पहिले पहिले पर्यटक भनेकै विदेशी हुन् वा निकुञ्ज घुम्ने विदेशीले मात्र हो भन्ने धारणा कम भएको छ । अहिले तुलनात्मक रुपमा बाघ लगाएतका जंगली जनावर हेर्नका लागि निकुञ्ज प्रवेश गर्ने नेपाली बढि रहेका छन् ।’
पर्यटनको लागि अप सिजन सुरु भएपनि अझै पनि फाटफुट पर्यटकहरू निकुञ्ज प्रवेश गरिरहेको निकुञ्जले जनाएको छ । विशेषगरी विदाको दिनमा निकुञ्जमा नेपाली पर्यटकको बाक्लो उपस्थीती हुन्छ । हात्तीसार, गोही प्रजनन् केन्द्र अवलोकन, जंगल सफारी, जंगल वाल्कको लागि बर्दिया राष्ट्रिय निकुञ्ज पर्यटकको रोजाईमा पर्ने गरेको छ ।








