(भुरीगाउँ) बर्दिया ।
करिब ६ दशकदेखि अलपत्र अवस्थामा रहेको भुरीगाउँ–तेलपानी–सुर्खेत सडकको शीघ्र विस्तार र स्तरोन्नतिका लागि ठाकुरबाबा उद्योग वाणिज्य संघले सरकारको ध्यानाकर्षण गराएको छ । संघका अध्यक्ष गणेश कुँवरले ऊर्जा, जलस्रोत तथा सिँचाइ एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङलाई ज्ञापनपत्र बुझाउँदै भुरीगाउँ–तेलपानी–सुर्खेत सडकको निर्माण कार्यलाई गति दिन आग्रह गर्नुभएको हो ।
वि.सं. २०२५ सालमा हुलाकी सडकका रूपमा विकास गरिएको यो मार्ग कर्णाली र लुम्बिनी प्रदेशलाई जोड्ने सबैभन्दा छोटो र वैकल्पिक मार्ग हो । भुरीगाउँदेखि सुर्खेतसम्मको दूरी मात्र ४२ किलोमिटर रहेको यो सडक निर्माण सम्पन्न भएमा इन्धन, समय र ढुवानी लागतमा उल्लेख्य बचत हुने ज्ञापनपत्रमा उल्लेख छ। सडकको ऐतिहासिक र रणनीतिक महत्त्व हुँदाहुँदै पनि बर्दिया राष्ट्रिय निकुञ्जसँग सम्बन्धित कानुनी अड्चन र वातावरणीय मुद्दाका कारण निर्माण प्रक्रिया दशकौँदेखि अवरुद्ध छ । हालसम्म भुरीगाउँदेखि तेलपानी खण्डमा ट्रयाक खोल्ने काम मात्र भएको छ । विगतका आर्थिक वर्षहरूमा करोडौँको बजेट विनियोजन भए पनि कामले अपेक्षाकृत गति लिन सकेको छैन ।
यो सडक केवल दुई जिल्ला जोड्ने माध्यम मात्र नभई बर्दिया राष्ट्रिय निकुञ्जलाई कर्णाली प्रदेश हुँदै चीनको हिल्सा नाका र मानसरोवरसम्म जोड्ने पर्यटकीय सेतु बन्न सक्ने सम्भावना रहेको छ । सडक स्तरोन्नति भएमा यस क्षेत्रको पर्यटन प्रवर्द्धन, स्थानीय रोजगारी सिर्जना र कृषि उत्पादनको बजारीकरणमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ । ठाकुरबाबा उद्योग वाणिज्य संघका अध्यक्ष कुँवरले यो सडकको निर्माण समयमै सम्पन्न भएमा कर्णाली र लुम्बिनी प्रदेशको समग्र क्षेत्रीय विकासमा दीर्घकालीन र सकारात्मक प्रभाव पर्ने बताउनुभयो ।
सन्तुलन मिलाएर आयोजनालाई यथाशीघ्र अगाडि बढाउन ठाकुरबाबा नगरप्रमुख लम्सालको आग्रह
बर्दियाको भुरीगाउँदेखि सुर्खेतको तेलपानी जोड्ने सडक मध्ये २७ किलोमिटर खण्ड बर्दिया राष्ट्रिय निकुञ्जभित्र पर्दछ । वि.सं. २०६८ सालमै यसको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृत भए पनि निकुञ्जको जैविक विविधता र चुरे क्षेत्रमा अपूरणीय क्षति पुग्ने भन्दै सर्वोच्च अदालतमा मुद्दा परेको थियो ।
अदालतले पर्याप्त अध्ययन र विकल्पहरूको विश्लेषण नगरी प्रतिवेदन स्वीकृत भएको ठहर गर्दै, वातावरण संरक्षण ऐन बमोजिम निकुञ्जलाई कम भन्दा कम क्षति हुने गरी नयाँ विकल्प पहिचान गर्न परमादेश जारी गरेको थियो । ठाकुरबाबा नगर प्रमुख तिलकराम लम्सालले अदालतको आदेशलाई सम्मान गर्दै वन तथा वातावरण मन्त्रालय र राष्ट्रिय निकुञ्ज विभागलाई सडक निर्माणको प्रक्रियामा समन्वय गर्न आग्रह गर्नुभएको छ ।
स्थानीय जनताको दीर्घकालीन हित र विकासका लागि यो सडक मेरुदण्ड हुने भएकाले, वातावरण संरक्षण र भौतिक विकासबीच सन्तुलन मिलाएर आयोजनालाई यथाशीघ्र अगाडि बढाउन नगरप्रमुख लम्सालले आग्रह गर्नुभयो ।

समस्या समाधानका लागि वन मन्त्रीसँग छलफल गर्छु : मन्त्री घिसिङ
ठाकुरबाबा उद्योग वाणिज्य संघका प्रतिनिधि तथा स्थानीहरुसँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै ऊर्जा, जलस्रोत तथा सिँचाइ एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले नेपालको विकास निर्माणमा वन तथा निकुञ्ज सम्बन्धी पुराना ऐन कानुनहरू मुख्य बाधक रहेको बताउनुभयो ।
उहाँले भुरीगाउँ–तेलपानी–सुर्खेत सडकलाई कर्णाली र लुम्बिनी प्रदेश जोड्ने रणनीतिक मार्गको रूपमा व्याख्या गर्दै यसको अवरोध हटाउन विशेष पहल गर्ने प्रतिबद्धता समेत जनाउनुभयो । नेपालमा सडक, जलविद्युत र प्रसारण लाइन निर्माणमा सबैभन्दा ठूलो अवरोध निकुञ्ज र वन सम्बन्धी पुराना कानुनी प्रावधानहरूले सिर्जना गरेको बताउँदै मन्त्री घिसिङले यी कानुनी जटिलताका कारण कर्मचारीहरूले व्यावहारिक निर्णय लिन नसक्ने र नियामक निकायहरूको डरले आयोजनाहरू वर्षौंसम्म लम्बिइरहेको उल्लेख गर्नुभयो ।
एउटा सानो वातावरणीय समस्या वा एउटा रूख काट्ने अनुमति नपाउँदा ठूला आयोजनाहरू डेढ वर्षभन्दा बढी समयसम्म रोकिने गरेको उदाहरण दिँदै उहाँले वर्तमान ऐन कानुनमा व्यापक संशोधन वा खारेजी नगरी विकासको गति अघि बढ्न नसक्ने बताउनुभयो । उहाँले विकास निर्माणलाई गति दिन विकास दशक घोषणा गर्नुपर्ने र वातावरणीय प्रभाव मूल्यांकनको गाँठो फुकाउनुपर्नेमा जोड दिनुभएको छ ।
भुरीगाउँ–तेलपानी–सुर्खेत सडकको वातावरणीय प्रभाव मूल्यांकन र निकुञ्ज सम्बन्धी समस्या समाधानका लागि वन मन्त्रीसँग छलफल गर्ने र विषयलाई मन्त्रिपरिषद्सम्म पु¥याउने उहाँले आश्वासन समेत दिनुभयो । मन्त्री घिसिङले स्थानीय स्तरमा देखिएका ट्रान्सफर्मर र सडक क्रसिङका समस्याहरू तत्काल समाधान गर्न सम्बन्धित निकायलाई निर्देशन दिने बताउनुभयो ।
आगामी फागुन २१ गते हुने निर्वाचनका लागि अब करिब ७५ दिन मात्र बाँकी रहेको स्मरण गराउँदै, उहाँले विकास र सुशासनका लागि स्पष्ट भिजन भएको नेतृत्व चयन गर्न स्थानीयलाई आग्रह गर्दै समस्या बुझेको र डेलिभरी दिन सक्ने नेतृत्व आएमा मात्र उज्यालो नेपाल सम्भव हुने धारणा व्यक्त गर्नुभयो ।
ठाकुरबाबा उद्योग वाणिज्य संघले मन्त्री कुलमान घिसिङ समक्ष सडक विस्तार र स्तरोन्नतिलाई उच्च प्राथमिकतामा राखेर तत्काल कार्य अघि बढाउन, आयोजनाका लागि पर्याप्त र सुनिश्चित बजेटको व्यवस्था गर्न र बर्दिया राष्ट्रिय निकुञ्जसँग सम्बन्धित कानुनी र वातावरणीय अवरोध समाधानका लागि विशेष पहल गर्न मुख्य मागहरू प्रस्तुत गरेको छ । भुरीगाउँ–तेलपानी–सुर्खेत सडक निर्माण सम्पन्न भए कर्णाली र लुम्बिनी प्रदेशबीचको व्यापार र पर्यटनमा नयाँ आयाम थपिने विश्वास गरिएको छ ।











