साैगात श्रेष्ठ,ठाकुरबाबा ।
ठाकुरबाबा नगरपालिकामा रहेको बबई शिशु माध्यमिक विद्यालयले 'पढ्दै कमाउँदै' कार्यक्रम अन्तरगत प्रशंसनीय र नवप्रवर्तनात्मक कार्य गरेको छ । विद्यालयले 'पढ्दै कमाउँदै' अवधारणालाई व्यवहारमा उतार्दै यो वर्ष धान उब्जाएर शैक्षिक तथा व्यावसायिक अभ्यासको सफल उदाहरण प्रस्तुत गरेको छ ।
बबई शिशु माध्यमिक विद्यालयमा संचालित कार्यक्रमले विशेषगरी कृषि क्षेत्रमा विद्यार्थीहरूलाई सक्रिय बनाएर प्रयोगात्मक शिक्षा प्रदान गर्न थालेको विद्यालयका शिक्षक धर्मराज घर्तीले खबरसन्देशलाइ बताउनु भयो । यो कार्यक्रमले शिक्षालाई सीप, श्रम, उत्पादन र बजारसँग जोड्ने राष्ट्रिय लक्ष्यलाई स्थानीयस्तरमा कार्यान्वयन गर्न सहयोग गरिरहेको उहाँको बुझाई छ । शिक्षक घर्तीका अनुसार सामाजिक विषय अन्तरगत परियोजनाको रुपमा ८ कठ्ठा क्षेत्रफलमा धानखेती गरिएको हो ।
'पढ्दै कमाउँदै' कार्यक्रमले विद्यार्थीहरूलाई किताबी ज्ञानका अतिरिक्त व्यवहारिक र व्यावसायिक ज्ञान प्रदान गर्न ठूलो मद्दत पुगेको छ । विद्यार्थीहरूले कृषि कार्यको प्रत्यक्ष अनुभव लिनुका साथै श्रमको महत्व र उत्पादन प्रक्रियाबारे बुझ्ने अवसर पाएको ठाकुरबाबा नगरप्रमुख तिलकराम लम्सालले बताउनुभयो । विद्यालयका शिक्षक, विद्यालय व्यवस्थापन समिति र विद्यार्थीहरूको सामूहिक सहकार्यमा धानखेती गरिएको हो । दीगो विकासका लागि सीप परियोजनासँग नेपाल सरकारले सम्झौता गरि संचालन गरेको पढ्दै कमाउँदै कार्यक्रम अनुसारनै विद्यालयले कक्षा १० मा अध्ययन गर्ने विद्यार्थीहरुलाई जीवनोपयोगी सीप सिकाउनको लागि कार्यक्रम संचालन गरेको विद्यालयका प्रधानाध्यापक शंकरप्रसाद आचार्यले खबरसन्देशलाइ बताउनुभयो ।
बबई शिशु माध्यमिक विद्यालयको यो पहल 'पढ्दै कमाउँदै' कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने र विद्यार्थीहरूलाई श्रम तथा उत्पादनसँग जोड्ने कार्यमा एक उदाहरणीय कदम बनेको छ । संघीय सरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेटमा 'पढ्दै कमाउँदै' कार्यक्रमलाई समावेश गरेपछि प्रदेश सरकार र स्थानीय तहहरूले पनि यसलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्न थालेका छन् । ठाकुरबाबा नगरपालिकासँगै बर्दियाका अन्य पालिकाहरूले पनि यसलाई कार्यान्वयनमा लैजान सहयोग गरिरहेका छन् ।








