साैगत श्रेष्ठ, ठाकुरबाबा। ठाकुरबाबा नगरपालिकामा विद्यालय तहका किशोरीहरूलाई लक्षित गरी आयोजना गरिएको ३ दिने आत्मरक्षा सम्बन्धी तालिम एक कार्यक्रमका बीच समापन गरिएको छ ।
तालिमको ३ दिने प्रशिक्षण अवधिमा सहभागी किशोरीहरूलाई आत्मरक्षाका व्यावहारिक र सैद्धान्तिक सीप, साइबर सुरक्षाका आधारभूत जानकारी, र लैङ्गिक हिंसा सम्बन्धी सचेतना र कानुनी ज्ञान प्रदान गरिएको ठाकुरबाबा नगरपालिकाका नगर उपप्रमुख बीनाकुमारी भट्टराईले जानकारी दिनुभयो । आत्मरक्षा तालिमले किशोरीहरूलाई शारीरिक एवम् मानसिक रूपमा अझै मजबुत बनाई उनीहरूको आत्मविश्वास अभिवृद्धि गर्नमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले पालिकाले तालिमको आयोजना गरिएकोे उपप्रमुख भट्टराईले बताउनुभयो ।
तालिममा सहभागी सम्पूर्ण किशोरीहरूलाई तालिम अवधिमा प्राप्त गरेका ज्ञान र सीपलाई आफ्नो विद्यालय र समुदायमा पनि अरूलाई सिकाउन र सुरक्षित समाज निर्माणमा योगदान पु¥याउन नगरप्रमुख तिलकराम लम्सालले आग्रह गर्नुभयो । तालिमलाई सहजीकरण गर्ने जिल्ला प्रहरी कार्यालय बर्दिया अन्तरगतको सम्पूर्ण टोली र तालिममा सक्रिय सहभागिता जनाउने प्रशिक्षार्थीहरूलाई नगर प्रशासनले धन्यवाद ज्ञापन गरेको छ ।
ठाकुरबाबा नगरपालिकाको आयोजना एवम् जिल्ला प्रहरी कार्यालय, बर्दियाको सहजिकरणमा कार्तिक १९ गतेदेखि सञ्चालन गरिएको आत्मरक्षा सम्बन्धि तालिम २१ गते शुक्रबार सम्पन्न भएको हो । तालिममा ठाकुरबाबा नगरपालिका अन्तरगतका विभिन्न विद्यालयका ४० भन्दा बढी विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो ।








