ज्ञानेन्द्र पाेखरेल,
बर्दिया । बर्दियामा नेपाल भारत सीमा क्षेत्रबाट ४८ लाख बराबरको चिनियाँ विद्युतिय चुरोट पक्राउ परेको छ । विशेष सुराकीको आधारमा नेपालबाट भारत तर्फ अवैध रुपमा चोरी निकाशी गर्दै गर्दा विद्युतिय चुरोट (इलेक्ट्रिक भेप) शशस्त्र प्रहरीले फेला परेको हो ।
मधुवन नगरपालिका वडा नं ५ गाउँ नं १० को फुलाराम चोकबाट दुई ओटा साईकलमा राखेर भारत तर्फ लैजाँदै गर्दा एक हजार ९ सय २० थान विद्युतीय चुरोट फेला परेको हो । विशेष सुराकीको आधारमा शशस्त्र प्रहरी नायव निरिक्षक कमल बहादुर नेपालीका कमाण्डमा गस्ती टोली सो स्थानमा खटाईएको थियो ।

स्पेशम्यान एसपि चालिस हजार नामक विद्युतीय चुरोटको बजार मुल्य प्रति थान दुई हजार पाँच सय रहेको छ । शशस्त्र प्रहरी ३१ नं गणका प्रहरी उपरिक्षक मानबहादुर शाहीका अनुसार पक्राउ परेको चुरोटको मुल्य ४८ लाख पाँच हजार रहेको छ । गस्ती टोली देख्ना साथ चोरी निकासीमा संलग्न दुवैजना सामान र साईकल छोडेर भारत तर्फ भागेकोे उहाँले बताउनु भयो ।
पक्राउ गरिएको विद्युतीय चुरोट आवश्यक प्रक्रिया पुरा गरी राजापुर भन्सार कार्यालय गुलरियामा बुझाइएको शशस्त्र प्रहरी उपरिक्षक शाहीले बताउनु भयो । खुल्ला सिमानाका कारण नेपाल भारत सिमा क्षेत्र अबैध सामान ओसार पसार हुने गरेको पाईन्छ ।








