भुरीगाउँ (बर्दिया)। ठाकुरबाबा नगरपालिकाले पूर्ण अपाङ्गता भएका विपन्न परिवारका व्यक्तिहरूलाई न्यानो कपडा वितरण गरेको छ। पछिल्लो केही दिनदेखि चिसो बढ्दै जाँदा विपन्न वर्गलाई लक्षित गरी पालिका भित्रका १२० विपन्न परिवारलाई ब्ल्याङ्केट वितरण गरिएको हो ।
ठाकुरबाबा नगरपालिकाको ९ वटै वडामा पूर्ण अपाङ्गता भएका व्यक्तिहरूलाई छनोट गरी ब्ल्याङ्केट तथा हाइजिन कीट वितरण गरिएको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख गोगनसरा आचार्यले जानकारी दिनुभयो । "अपाङ्गता समावेशी समाजको प्रवर्द्धन: सामाजिक उन्नतिको संवर्द्धन" भन्ने मूल नारा सहित ३४औँ अन्तराष्ट्रिय अपाङ्गता दिवस २०२५ को अवसरमा प्लान इन्टरनेशनल नेपाल, बि-ग्रुप र गेरुवा ग्रामीण जागरण संघसंगको साझेदारीमा ठाकुरबाबा नगरपालिकाले ९ वटै वडामा अपाङ्गता भएका विपन्न परिवारलाई न्यानो कम्बल र हाइजिन किट वितरण गरेको हो ।
अपाङ्गता भएका व्यक्तिहरूलाई समाजमा हेर्ने दृष्टिकोण नकारात्मक रहेकोले सामाजिक विभेदको भावनाहरूमा परिवर्तन ल्याई अपाङ्गता भएका नगरवासीहरुको दैनिक जीवन सहज तुल्याउने कार्यलाई पालिकाले पहिलो प्राथमिकतामा राखेको ठाकुरबाबा नगरप्रमुख तिलकराम लम्सालले बताउनुभयो ।
ठाकुरबाबा नगरपालिकाले नियमित रूपमा अपाङ्गता भएका व्यक्तिहरू छनोट गरि परिचयपत्र वितरण गर्ने, अपाङ्गता भएका व्यक्तिलाई सुरक्षित आवास निर्माणमा पालिकाको तर्फबाट दोब्बर रकम ९३ लाख ७५ हजार० सहयोग गर्ने, विभिन्न सहायक सामाग्रीहरू वितरण, सीपमूलक तालिम, बीउपुँजी उपलब्ध गराउने, छात्रवृति एवम शैक्षिक सामाग्री सहयोग, अपाङ्ग मैत्री संरचना निर्माण जस्ता विविध कार्यहरू सञ्चालन गर्दै आइरहेको छ ।








