ठाकुरबाबा, बर्दिया ।
ठाकुरबाबा नगरपालिका–३, जुडपानीमा केन्द्रीय कार्यालय रहेको प्रगति बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा कार्यरत कर्मचारी अशोक कुमार थारुको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै आज एक शोकसभा सम्पन्न भएको छ । सहकारी कर्मचारी क्लब, ठाकुरबाबा र प्रगति साकोसको संयुक्त आयोजनामा शोकसभाको आयोजना गरिएको हो ।
निष्ठावान् र मेहनती कर्मचारीका रूपमा चिनिनुहुने अशोक कुमार थारुको निधनले सहकारी क्षेत्रलाई ठुलो क्षति पुगेको भन्दै कार्यक्रममा उपस्थित सहभागीहरूले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभयो । कार्यक्रमको सुरुवातमा मृतकको आत्माको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरिएको थियो ।
शोकको यस कठिन घडीमा मृतकको परिवारलाई थोरै भए पनि आर्थिक राहत मिलोस् भन्ने उद्देश्यले दुवै संस्थाको पहलमा संकलन गरिएको सहयोग रकम आजै हस्तान्तरण गरिएको छ । प्रगति साकोस र सहकारी कर्मचारी क्लबका तर्फबाट संकलन गरिएको रकम मृतकका परिवारलाई हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रगति साकोसका प्रमुख व्यवस्थापक धनबहादुर रतगैयाँले अशोक कुमार थारुको निधनले संस्थाले एक कुशल र जिम्मेवार कर्मचारी गुमाएको बताउनुभयो । उहाँले पुर्याउनुभएको योगदान संस्थाले सधैँ सम्झिरहने बताउनुभयो । त्यस्तै, सहकारी कर्मचारी क्लबका अध्यक्ष गणेशबहादुर थापाले सहकारी अभियानमा आवद्ध एक सहकर्मी गुमाउँदा ठाकुरबाबाको सहकारी क्षेत्र निकै स्तब्ध रहेको बताउनुभयो ।
शोकसभामा ठाकुरबाबा नगरपालिका भित्र संचालनमा रहेका सहकारी संस्थाहरुबाट सञ्चालक समिति, लेखा समितिका पदाधिकारी, व्यवस्थापक तथा कर्मचारीहरू, सहकारी कर्मचारी क्लब ठाकुरबाबाका पदाधिकारीहरू तथा स्थानीय सहकारीकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको समापन गर्दै वक्ताहरूले शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी समवेदना प्रकट गर्नुभएको थियो । प्रगति बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा कार्यरत कर्मचारी अशोक कुमार थारुको २०८२ मंसिर २५ गते निधन भएको थियो ।








