बर्दिया ।
बर्दियामा मानव वन्यजन्तु द्वन्द्व बढ्दै गएपछि नेकपा एमाले बर्दियाले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री समक्ष ध्यानाकर्षण पत्र बुझाएको छ । बर्दियामा देखिएको वन्यजन्तुको आतङ्कलाई रोक्नुपर्ने माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको हो ।
बर्दिया जिल्लामा विगत लामो समय देखि वन्यजन्तु, बाघ, चितुवा हात्ती लगायतका वन्यजन्तुको आतङ्क व्याप्त भएको र त्यसको आतङ्कबाट बर्दियाबासीलाई जोगाउनका लागि तत्कालीन र दीर्घकालीन उपाय अपनाउनका लागि आग्रह सहित ध्यानाकर्षण पत्र बुझाइएको हो । ध्यानाकर्षण पत्रमा चालु आर्थिक वर्षमा मात्र हाल सम्म ६ जनाले ज्यान गुमाएको र यस विषयमा नेकपा एमाले बर्दिया गम्भिर भएको उल्लेख गर्दै यस दुःखद घटनाको बारेमा राज्यको ध्यानाकर्षण गराइएको उल्लेख गरिएको छ ।
ध्यानाकर्षण पत्रमा वन्यजन्तुको नियन्त्रण र व्यवस्थापन कार्यक्रम सुदृढीकरण गर्नुपर्ने, प्रभावित क्षेत्रका बासिन्दाहरूको सुरक्षा सुनिश्चित गर्दै सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने, पीडित परिवारलाई तत्काल राहत र पुर्नस्थापनाको गर्नुपर्ने र मानव वन्यजन्तु द्वन्द्व समाधान गर्न दीर्घकालीन योजना र नीति निर्माणमा ध्यान दिनुपर्ने माग गरेका छन् ।
सरकारले मानव र वन्यजन्तु द्वन्द्व न्युनीकरणका लागि तत्काल कदम चाल्नुपर्ने नेकपा एमाले बर्दियाका अध्यक्ष शालिकराम अधिकारीले बताउनु भयो । प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले मानव वन्यजन्तु द्वन्द्व बर्दियाका सम्पूर्ण राजनीतिक दलहरूको साझा मुद्दा हुनुपर्ने बताउनु भयो ।

ध्यानाकर्षण पत्र बुझाउनका लागि नेकपा एमालेका केन्द्रिय सदस्यहरू खडक बहादुर खड्का, शोभा ज्ञवाली, बिमला विक, बिना ज्ञवाली, नेकपा एमाले बर्दियाका निवर्तमान अध्यक्ष लालबहादुर श्रेष्ठ, उपाध्यक्ष दुर्गा वली, सचिव पदम ढकाल लगाएतकाको उपस्थिति रहेको थियो ।










