यज्ञप्रसाद सापकोटा, बर्दिया ।
बर्दियाको बारबर्दिया नगरपालिकाले सिकलसेल र थालसेमिया रोगका बिरामीहरूलाई लक्षित गरि नगर अस्पताल मै रक्तसञ्चार सुविधा उपलब्ध गराएको छ । गत बर्ष देखि ब्लडबैङ्कको स्थापना गरेको नगरअस्पतालले हाल रगत चढाउने सुविधा समेत सुरुवात गरेको छ ।
नगर अस्पतालले रक्तसञ्चार सुविधा दिन थालेपछी बारबर्दिया नगरपालिकाका सिकलसेल र थालसेमिया रोगका बिरामीहरू रगत चढाउन कै लागि नेपालगञ्ज, कोहलपुर र बर्दिया अस्पताल गुलरिया जानुपर्ने बाध्यता हटेको छ । ब्लडबैङ्कमा उपलब्ध भएको रगत चढाउनका लागि कोहलपुर, नेपालगञ्ज र गुलरिया जान बाध्य भएका बिरामीहरूले नगरअस्पताल मै रगत चढाउन पाउने भएका छन् । कतिपय सिकलसेल र थालसेमिया रोगका बिरामीहरूलाई १५÷१५ दिनमा रगत चढाउनु पर्ने हुन्छ । उनीहरू रगत चढाउनका लागि टाढा जानुपर्दा आर्थिकभार बढि परेको थियो भने बिरामीलाई कठिन भएको थियो ।
नगर अस्पताल मै रगत चढाउन पाउँदा सहज भएको बारबर्दिया नगरपालिका वडा २ जोगिगाउ्रँका थालसेमियाका बिरामी विकास थारूले बताउनु भयो । उहाँले रगत चढाउनका लागि हरेक १५ दिनमा नेपालगञ्ज सम्म गएको बताउँदै अब घर छेउ मै रगत चढाउने सुविधा पाएकोमा खुसी व्यक्त गर्नु भयो ।

सिकलसेल एनिमिया सोसाईटीका अध्यक्ष प्रभुराम चौधरीले नगरअस्पतालमा रगत चढाउने सुविधा दिँदा सिकलसेल र थालसेमियाका बिरामीहरू रगत चढाउन टाढा जानुपर्ने बाध्यता नहुने बताउनु भयो । उहाँले बर्दिया जिल्लामा करिब ७८० जना सिकल सेल रोगी भएको हुनाले सबै नगरअस्पतालमा रक्तसञ्चार सुविधा दिनुपर्ने खबरसन्देशलाइ बताउनु भयो ।
नगरअस्पताल मार्फत बारबर्दिया नगरपालिकाले केही वर्ष अघि देखि सिकलसेलको उपचार गर्दै आईरहेको छ । घरदैलो सर्वेक्षण गरेर नगरपालिकाले सिकलसेल रोगी र बाहकको संख्या पत्ता लगाएको थियो । बारबर्दिया नगरपालिका स्वास्थ्य शाखाका अनुसार नगर क्षेत्र भरी सिकलसेलबाट एक सय ४१ जना र थालसेमियाबाट ६ जना पीडित रहेका छन् । उनीहरू मध्ये लक्षण हेरेर हेमोग्लोबिन जाँच गरेर रगत चढाउनु पर्नेलाई सुविधा दिने गरिएको स्वास्थ्य शाखा प्रमुख गोविन्द पौडेलले बताउनु भयो ।








