यज्ञप्रसाद सापकोटा,बर्दिया । बर्दिया ठाकुरबाबाका थारू समुदायका युवा युवतीहरू अष्टिम्की चित्र बनाउन सिक्दै छन् । कृष्णजन्माष्टमीको दिनमा परम्परागत रुपमा घरका भित्ताहरूमा बनाईने अष्टिम्की चित्रकला लोप हुँदै गएपछि नयाँ पुस्तालाई सिकाइएको हो ।
थारू समुदायमा अनिवार्य रुपमा बनाईने अष्टिम्की चित्र बनाउने युवाहरू घट्दै गएपछि ठाकुरबाबा नगरपालिकाका २२ जना युवाहरूलाई चित्र बनाउन सिकाइएको हो । बढ्दो आधुनिकता सँगै परम्परागत कला सँस्कति लोप हुने जोखिम बढ्दै गएको छ । ति कला संस्कृस्तिलाई जगेर्ना गर्नका लागि युवाहरू सिकाई पुस्तान्तरण गर्न जरुरी भएको हुनाले युवाहरूलाई चित्रकला सिकाइएको ठाकुरबाबा प्रज्ञा प्रतिष्ठानका उपाध्यक्ष खगेन्द्र नेपालले बताउनु भयो । कृष्ण जन्माष्टमीको दिनमा हरेक घरमा बनाइने अष्टिम्की चित्रकला लोप नहोस् भने त्यसको महत्वको बारेमा समेत अन्र्तक्रिया कार्यक्रम गरेको उहाँले बताउनु भयो ।
ठाकुरबाबा बडघर सञ्जालका अध्यक्ष माघुराम थारूले अष्टिम्कीमा प्रयोग हुने चित्र प्रिन्ट गरेर समेत काम चलाउने प्रचलन आइसकेको बताउँदै घरका भित्ता र डेहरीमा हातले चित्र बनाउने परम्परा हराउने डरले अष्टिम्की चित्रकला बनाउन युवाहरूलाई तालिम दिइएको खबरसन्देशलाई बताउनु भयो । उहाँले आधुनिकता सँगै अष्टिम्की चित्रकला लोप हुने अवस्थामा पुगेको हुनाले यस महत्व र बनाउने तरिकाको बारेमा थारू समुदायका युवाहरूलाई सिकाइएको बताउनु भयो ।
थारू समुदायले परम्परागतरुपमा कृष्णजन्माष्टमीको दिनमा अष्टिम्की चित्र बनाउने गर्दछन् । थारू समुदायमा अष्टिम्कीको छुट्टै महत्व रहेको छ । यो पर्व थारू समुदायका महिलाहरूले विशेष महत्वका साथ मनाउने पर्व हो । भगवान् श्री कृष्ण, पाँच पाण्डव र महाभारतको कथासँग सम्बन्धीत चित्र घरका भित्ताहरूमा बनाइ पुजा गर्ने चलन रहेको बडघर सञ्जालका अध्यक्ष थारूले बताउनु भयो । उहाँका अनुसार चित्रमा बनाईएका हरेक पात्रहरूले अलग अलग पहिचानको रुपमा लिईन्छ । सबैभन्दा माथि श्रीकृष्ण, सुर्य चन्द्रमा, पाँच पाण्डव, कौरव, रावण लगाएतका प्रतिमा बनाईएको हुन्छ । महाभारतको कथामा आधारित अष्टिम्की चित्रमा मान जिवन र सृष्टीसँग जोडिएर चित्र बनाइने गरिएको अध्यक्ष थारूले खबरसन्देशलाई बताउनु भयो ।
तालिममा सहभागी युवाहरू आ आफ्नो गाउँ गाउँमा गएर कलात्मक अष्टिम्की चित्रकला बनाउन युवाहरूलाई सिकाउने ठाकुरबाबा नगरपालिकाकी उपप्रमुख बिनाकुमारी भट्टराईले बताउनु भयो ।








