यज्ञप्रसाद सापकोटा
बर्दिया। बर्दियाको बारबर्दिया नगरपालिकाले घर घरमा सुत्केरी चेकजाँचको सुविधा दिएको छ । गत आर्थिक बर्ष २०८१÷८२ मा सुत्केरी भएका ८७३ जना सुत्केरी आमालाई चेक जाँच र औषधी उपचार सेवा लिएका छन् ।
सुत्केरी भईसकेपछि नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीबाट कम्तीमा दुई पटक सुत्केरी आमा र बच्चाको चेकजाँच गरिन्छ । सुत्केरी भएर घर गई सकेपछि सुत्केरी भएको तीन दिनमा र सात देखि १४ दिनमा चेक जाँच गरिन्छ । आमा र बच्चाको स्वास्थ्यमा समस्या देखिएमा सामान्य उपचार घर मै गरिन्छ भने थप उपचारका लागि नगर अस्पतालमा पठाउने गरिएको छ ।
सुत्केरी हुँदा घरमा नै सेवा पाउँदा सहज भएको बारबर्दिया नगरपालिका वडा नं ३ खुरखुरेकी सोनिया बान्तवाले बताउनु भयो । उहाँले तीन पटक सम्म स्वास्थ्यकर्मी चेकजाँच गर्न आएको बताउँदै आमा र बच्चालाई समस्या परेको समयमा चेक जाँच भएको हुँदा सहज भएको बताउनु भयो । बारबर्दिया नगरपालिका वडा ३ बेलवावज्जाकी रेश्मा थारूलाई पनि सुत्केरी चेकजाँच गर्दा सहज भएको बताउनु भयो । आमा र बच्चालाई चेक जाँच गरि सल्लाह सुझाव दिएको हुनाले सहज भएको उहाँले बताउनु भयो ।
आमा र बच्चालाई समस्या देखिएमा औषधी उपचार गर्ने र नजिकको स्वास्थ्य संस्थामा जानका लागि सल्लाह दिने गरिएको सिनियर अनमी सुनिता कँडेलले बताउनु भयो । उहाँले कतिपय आमा र बच्चा त नर्मल अवस्था रहेका हुन्छन् भने कतिपयमा त विभिन्न समस्या देखिने गरेको बताउनु भयो ।
सिनियर अनमी कँडेलका अनुसार घरमा सामान्य कुराहरू नजान्दा र ख्याल नगर्दा आमा र बच्चालाई समस्या पर्ने गरेको छ । गर्मीमा समेत बच्चालाई कपडामा गुम्स्याएर राख्ने, अँध्यारो र धुँवा भएको कोठामा राख्ने, आमा र बच्चालाई ननुहाइदिने गरेको पाइन्छ । त्यसैगरी आमालाई खाना बारेर पर्याप्त पोषिलो खानेकुरा खान नदिने, आमाको टाँका फुस्केने वा पाक्ने, बच्चाको नाभि पाक्ने, बच्चा घाममा नराखेको कारण पहेलो देखिने गरेको समेत पाइएको उहाँले बताउनु भयो । सिनियर अनमी कँंडेलका अनुसार सुत्केरी मध्ये ४० प्रतिशतमा विभिन्न समस्या देखिने गरेको र १० प्रतिशत नगरअस्पतालमा रेफर गर्नुपर्ने पाइने गरेको छ ।
बारबर्दिया नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गोविन्द पौडेलले विगत ३ बर्ष यता सुत्केरी र नवजात शिसुको चेकजाँचका लागि सबै ठाउँमा स्वास्थ्यकर्मी पठाउने गरेको बताउनु भयो । गत बर्ष देखि थप कडाईका साथ लागु गरेको हुनाले ८ सय ७३ जना सुत्केरीले सेवा पाएको बताउनु भयो । आमा र बच्चाको स्वास्थ्यलाई मध्येनजर गर्दै सेवा थप गर्दै जाने योजना रहेको उहाँले बताउनु भयो ।








