यज्ञप्रसाद सापकोटा,बर्दिया ।
अक्सिजनको उत्पादन गरि सहज आपूर्ती गर्नका लागि बर्दिया अस्पतालमा स्थापना गरिएको अक्सिजन प्लान्ट विगत एक बर्ष देखि बन्द रहेको छ । अक्सिजन प्लान्ट बन्द हुँदा अस्पतालमा आवश्यक अक्सिजन नेपालगञ्ज देखि ल्याउनु पर्ने बाध्यता रहेको छ ।
बर्दिया अस्पतालमा कोभिडको दोस्रो लहरको समयमा उत्पादन सुरु भएको अक्सिजन बन्द भएपछि बर्दियाबासीहरू नेपालगञ्ज अक्सिजन लिन जान बाध्य भएका छन् । उत्पादन हुन छोडेपछि बर्दिया अस्पतालमा अक्सिजन पुर्तिका लागि समस्या परेका छ । अस्पतालमा आवश्यक अक्सिजनका लागि नेपालगञ्जबाट ल्याउने गरिएको छ । घरमा नै राखेर अक्सिजन दिनुपर्ने विरामीको लागि सिलिन्डर बोकेर नेपालगञ्ज पुग्नु पर्ने बाध्यता छ । अक्सिजन जिल्लामा उपलब्ध नहुँदा अक्सिजनमा आधारित उद्योगहरू समेत मर्कामा पर्ने गरेका छन् ।
बर्दिया अस्पताललाई बिरामीको चाप अनुसार मासिक दुई सय थान सम्म ठुलो सिलिन्डरको अक्सिजन आवश्यक पर्ने बर्दिया अस्पतालले जनाएको छ । बर्दिया अस्पतालका मेडिकल रेकर्डर एवं सूचना अधिकारी केशव न्यौपानेले अक्सिजन उत्पादन हुँदा आन्तरिक र बाह्य खपत राम्रै सँग हुने गरेको बताउँदै अहिले अस्पतालले नै नेपालगञ्ज देखि ल्याउनु पर्ने बाध्यता रहेको खबरसन्देशलाइ बताउनु भयो ।
बर्दिया अस्पतालमा अक्सिजनको समस्या भएपछि कोरोनाको समयमा संघिय सरकारको सहयोगमा अक्सिजन प्लान्ट स्थापना भएको थियो । संघिय सरकारको करिब ८२ लाख लगानीमा प्लान्ट स्थापना गरिएको थियो भने प्लान्टका लागि १८ लाख लगानी गरेर भवन निर्माण गरिएको थियो । अक्सिजन प्लान्ट निर्माण भएपछि बर्दिया अस्पतालले करिब ४५ लाखको लागतमा अस्पताल भित्र पाइपलाइन विस्तार गरेको छ ।
उत्पादित अक्सिजन स्टोरका लागि ७५ लिटरका दुई ओटा सिलिण्डर जडान गरिएको छ । दैनिक २० एम एम अक्सिजन उत्पादन गर्न सक्ने क्षमता भएको प्लान्ट हाल मर्मत सम्हारका लागि बजेट नहुँदा अलपत्र परेको छ ।
अक्सिजन प्लान्ट बजेट अभावमा सर्भिसिङ्गको गर्न नसक्दा बन्द भएको बर्दिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुभाष पाण्डेयले बताउनु भयो । उहाँले करिब छ लाख रुपैयाँ प्लान्ट बनाउनका लागि लाग्ने बताउँदै प्लान्ट सञ्चालन गर्नका लागि विद्युत लगाएत सञ्चालन खर्च अत्याधिक लाग्ने गरेको बताउनु भयो । उहाँले भन्नु भयो –‘प्लान्ट सञ्चालन र अक्सिजन खरिद करिब उस्तै पर्ने गरेको छ । ’ संघिय सरकारले अक्सिजन प्लान्ट राखेर सञ्चालन र मर्मत सम्हारका लागि रकम उपलब्ध नगराएको बताउनु भयो ।