पुस्कर काफ्ले,गेरुवा ।
गेरुवामा सबैभन्दा बढी रक्तदान गर्दै गगन सिंह कुँवर फाउण्डेशन नेपाल गेरुवाले रेकर्ड कायम गरेको छ । शुक्रबार आयोजना गरेको बृहत रक्तदान कार्यक्रममा ८३ जना रक्तदाताले रक्तदान गरेसँगै गेरुवा गाउँपालिकामा पहिलो पटक यति ठूलो मात्रामा रगत संकलन गरिएको हो ।
नेपाल रेडक्रस सोसाइटी लारी रक्तसञ्चार केन्द्र गुलरियाको प्राविधिक सहयोग, रेडक्रस गेरुवा उपशाखा र नेपाल रक्तदाता समाजको समन्वय र इलाका प्रहरी कार्यालय पाताभारको सहकार्यमा भएको रक्तदान कार्यक्रममा ३ जना महिला सहित ८३ जनाले रक्तदान गर्नुभएको गगन सिंह कुँवर फाउण्डेशन नेपालका अध्यक्ष शेर बहादुर कुँवरले बताउनुभयो ।
शुक्रबार भएको कार्यक्रममा प्रमुख अतिति गेरुवा गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले रक्तदान जस्तो पवित्र कार्यको आयोजना गरेकोमा फाउण्डेशनलाई धन्यवाद ज्ञापन गर्दै यो पुण्य अभियानमा जोडिन सबैलाई अनुरोध गर्नुभयो ।
कार्यक्रममा गेरुवा २ का वडा सदस्य जमान सिंह कडायत, राम अवतार थारु, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा बर्दियाका सदस्य गोकुल कुमार कठायत, इलाका प्रहरी कार्यालय पाताभार बर्दियाका प्रहरी निरीक्षक मदन बहादुर गुरुङ, रेडक्रस गेरुवाका सभापति नरेन्द्र प्रसाद पाण्डे, नेपाल स्वयमसेवी रक्तदाता समाज बर्दियाका अध्यक्ष प्रेम बहादुर लम्साल, गेरुवाका अध्यक्ष जीवन चौधरी, गेरुवा उद्योग वाणिज्य संघका अध्यक्ष भिम बहादुर धामी, बजार व्यवस्थापन समितिका अध्यक्ष तुलस्थ प्रसाद खनाल लगायतको सहभागिता रहेको थियो ।








