बर्दिया । बर्दियाको ठाकुरबाबामा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका वडा न ९ हात्तीसार बस्ने ४२ वर्षीय सीता खत्रीको हात्तीको आक्रमणबाट दुखद् मृत्यु भएको हो ।
शनिबार राती ११ बजे महिलालाई हात्तीले आक्रमण गरेको थियो । खेतमा धान हेरेर फर्कने क्रममा हात्तीले महिलालाई आक्रमण गरेको थियो । हात्तीले आक्रमण गर्दा महिलाको घटनास्थल मै मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत एवं सूचना अधिकारी सरोजमणि पौडेलले बताउनु भयो । शवलाई आज पोस्टमार्टम गरि आफन्तलाई बुझाउने तयारी भइरहेको उहाँले बताउनु भयो ।
मृतक खत्रीको श्रीमान् चित्र बहादुर खत्री बर्दिया राष्ट्रिय निकुञ्जका हात्तीसारका कर्मचारी हुनुहुन्छ । उहाँका तीन छोरी र एक छोरा रहेका छन् ।
विशेष गरी धान पाक्ने सिजनमा जंगली हात्ती किसानको खेतमा धान खान आउने गदर्छ । हात्ती धपाउने क्रममा किसानको मृत्यु हुने गरेको छ । यस अघि गत माघ ३० गते ठाकुरबाबा नगरपालिका वडा नं २ बलातीमा ७१ वर्षीय बोलीराम थारूको मृत्यु भएको थियो ।








