यज्ञप्रसाद सापकोटा,बर्दिया । दशैँको समयमा पनि बर्दियाका केरा बिकेका छैनन् । भारतबाट आयात हुने केरा पूर्ण रुपमा नरोकिएपछि बर्दियाका केरा दशैँमा पनि नबिकेका हुन् ।
बर्दियामा करिब पाँच सय हेक्टर केरा खेती हुने गरेको छ । जसमध्ये मुस्किलले दुई ५० हेक्टर केरा बिकेको किसानहरूले बताएका छन् । गत बर्ष दशैँ अगाडि नै केरा व्यापारीहरू किसानको खेतबारीमा पुग्न गर्दथे । अहिले किसानहरू नै व्यापारी सँग पुग्दा समेत केरा नबिकेको केरा व्यवसाय संघ बर्दियाका अध्यक्ष टोपलाल बि.क.ले बताउनु भयो । “गतबर्ष सम्म किसान खेतमा केरा खरिद गर्न आउँदा किसानले मोलमोलाई गरेर छ सय रुपियाँमा प्रति क्रेट(१०दर्जन) सम्म केरा विक्रि गरेका थिए । ” उहाँले भन्नुभयो – “यस पटक भने व्यापारीलाई मेरो केरा किन्देउ भन्दै जाँदा किसानले न्यूनतम दुई सय देखि तीन सय ५० प्रतिक्रेट सम्म केरा बेचेका छन् ।” गत बर्ष मंसिर पुषमा बेचिने दरमा दशैँ केरा बेच्दा समेत विक्री नभएको उहाँले बताउनु भयो । “अब तुलनात्मक रुपमा दशैँको जस्तो केरा बिक्दैन ।” उहाँले भन्नु भयो –“यस पटक बर्दियाको केरा बारी मै कुहिने निश्चित छ ।”
गत वर्षको तुलनामा यस वर्ष केरा बिक्रि कम भएको केरा व्यवसायी शम्भुप्रसाद अधिकारीले बताउनु भयो । जेन जीको आन्दोलनले पनि केरा खरिदविक्रिमा समस्या बनाएको उहाँले बताउनु भयो । दशैँ तिहार सम्म केरा बिक्रि नभएमा किसानहरूको लगानी डुब्ने उहाँले बताउनु भयो ।
केरा खेतीको लागि उत्कृष्ट बन्दै गएको बर्दिया जिल्लामा बजार व्यवस्थापन नहुँदा किसानहरू मर्कामा परेका छन् । केरा खेतीमा आत्मनिर्भर बन्दै बाँके सुर्खेत दाङ्ग लगाएतका जिल्लामा निर्यात गर्न सक्षम बर्दिया किसानहरू हाल केराले बजार मुल्य नपाउँदा मर्कामा परेका हुन् । सिजन र चाडबाडको समयमा भारतीय केरा अत्याधिक आयात हुँदा नेपाली केरा बिक्न छोडेको हो । सरकारले केरा आयातमा कडाइ गर्नका लागि भन्सार र क्वारेन्टाईनमा परिपत्र गरेपनि नरोकिएको केरा व्यवसायी टिका सम्सेलीले बताउनु भयो ।
बर्दिया जिल्लामा केरा जोन कार्यक्रम लागु भएपछि करिब पाँच सय हेक्टर क्षेत्रफलमा केरा खेती हुँदै आएको छ । बार्षिक १५ हजार मेट्रिक टन केरा उत्पादन हँुदै आएको छ । हाल बर्दिया जिल्लामा करिब सात सय घरपरिवार केरा खेतीमा संलग्न रहेका छन् । बर्दियामा बार्षिक ४० करोड बराबरको केराको कारोबार हुने गरेको छ ।
बर्दियामा हाल केरा खेती बिस्तार सँग व्यवस्थीत हुँदै गएको छ । केरा पकाउने र स्टोर गर्न मिल्ने च्याम्बर, टिस्युकल्चर केरा नर्सरी, केराको थम्बाबाट रेसा निकाल्ने उद्योगहरू स्थापना भएका छन् ।








