फाेटाे : एकराज वली
यज्ञप्रसाद सापकोटा, बर्दिया ।
व्यापारीले धानको मुल्य नदिएपछि बर्दियाका किसानहरू सस्तोमा धान बेच्न बाध्य भएका छन् । सरकारले तोकेको धानको समर्थन मुल्य भन्दा एक हजार कम मुल्यमा धान बेच्न बाध्य भएका छन् ।
सरकारले मोटा धानको समर्थन मुल्य ३४ सय ५३ रुपियाँ प्रतिक्विन्टल तोकेको छ भने मध्यम धान प्रतिक्विन्टल तीन हजार छ सय २८ रुपियाँ तोकेको छ ।
धान खरिदको लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ढिलाई गरेको छ । त्यसैको मौका छोपेर स्थानीय व्यापारीहरूले धमाधम किसानको धान कम मुल्यमा खरिद गरिरहेका छन् । बर्दियामा किसानहरूले २४ सय देखि २७ सय प्रतिक्विन्टल मोटा धान विक्रि गरिरहेका छन् ।
धान खरिद गर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र स्थानीय सहकारीहरूले धान खरिद सुरु नगर्दा व्यापारीहरूलाई कम मुल्यमा धान बेच्न किसानहरू बाध्य भएका हुन् । मुल्य बृद्धिका लागि समय कुर्न भण्डार गर्ने स्थान नभएका र चाडपर्व खर्च जुटाउन गाह्रो भएकोले धान बेच्नु परेको किसानहरू बताउँछन् ।
गुलरिया नगरपालिका वडा २ पण्डिपुरका लोकप्रसाद भुषालले व्यापारीहरूले आँफुले चाहेअनुसारको धानको मुल्य लगाएको बताउनु भयो । सरकारले धानको समर्थन मुल्य तोकेपनि व्यापारीहरूले आँफु खुसी मुल्य राखेको बताउनु भयो ।
राजापुर नगरपालिका वडा नं ७ भिम्मापुरका कृषक पहारी थारूले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिद ढिला गर्दा कृषकहरू मर्कामा परेको बताउनु भयो । उहाँले हरेक बर्ष कृषकले धान विक्रि गरेपछि मात्र कम्पनीले धान खरिद सुरु गर्ने गरेको बताउनु भयो । उहाँले भन्नु भयो –“ विगत्मा कम्पनीले धान खरिदको सुरुवात गर्ने वित्तिकै व्यापारीहरूले पनि समर्थन मुल्यमा धान खरिद गर्ने गरेका छन्, कृषकको भलाईका लागि पनि छिट्टै धान खरिद सुरु गर्ने पर्दछ । ”
किसानले सस्तो मुल्यमा धान विक्रि गरिरहँदा पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड राजापुरले धान खरिदको सुरुवात भने गरेको छैन । गत बर्ष पनि कार्तिक मध्य तिरबाट धान खरिद गरेको कम्पनीले कार्तिक मध्य सम्ममा धान खरिदको सुरुवात गर्ने जनाएको छ । गत बर्ष एक लाख क्विन्टल धान खरिदको लक्ष्य भएपनि किसानले धान बेच्न नल्याउँदा ३७ हजार क्विन्टल मात्र खरिद गर्न सकिएको निमित्त प्रमुख कठायतले बताउनु भयो ।
यता स्थानीय व्यापारीहरूले किसानहरूको धान सस्तो मुल्य खरिद गर्न थालेपछि केहि बर्ष यता सरकारले तोकेको समर्थन मूल्यमा बर्दियाका कृषी सहकारीहरूले किसानहरूको धान खरिद गर्न थालेका छन् । मधुवन नगरपालिकामा रहेको ताराताल सानाकिसान कृषि सहकारी संस्थाले केही दिन अगाडि देखि धान खरिद सुरु गरिसकेको छ । ठाकुरबाबा नगरपालिकाको सिँहबाहिनी शिवशक्ती कृषक बहुउद्देश्य सहकारी संस्थाले सकारको समर्थन मुल्य धान खरिद गरिरहेको छ । केही सहकारीहरूले छठ लगत्तै धान खरिद गर्ने बताएका छन् ।








