केशव काेइराला, राजापुर ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय राजापुरले आज देखि धान खरिदको सुरुवात गरेको छ । कम्पनीले पहिलो दिनमा नै नौ सय क्विन्टल भन्दा बढि धान खरिद गरेको छ ।
पहिलो दिनमा मोटा धान आठ सय ९४ क्विन्टल र मध्यम धान १२ क्विन्टल धान खरिद गरिएको कम्पनीका सुचना अधिकारी चेतमान कठायतले बताउनु भयो । सरकारले मोटा धानको समर्थन मुल्य ३४ सय ६३ रुपियाँ प्रतिक्विन्टल तोकेको छ भने मध्यम धान प्रतिक्विन्टल तीन हजार छ सय २८ रुपियाँ तोकेको छ । खाद्यले सरकारले तोके कै न्युनतम समर्थन मुल्यमा धान खरिद गरेको छ ।
धान खरिदको सुरुवात गरेपछि धान बेच्नका लागि खाद्य वरीपरी किसानको भिड लाग्ने गरेको छ । गत बर्षको तुलनामा केही दिन ढिला गरी खाद्यले धान खरिद सुरु गरेको छ । खाद्यले धान खरिद ढिलाई गर्दा कतिपय किसानले सस्तो मुल्यमा धान बिक्री गरेका थिए ।
खाद्यले धान खरिद गरेपछि किसानहरू हर्षित भएका छन् । सरकारले तोकेको मुल्यमा नै धान बेच्न पाएको गेरुवा गाउँपालिका वडा नं १ का किसान रामकृष्ण थारूले बताउनु भयो । यस बर्ष खाद्यले ३० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य रहेको सुचना अधिकारी कठायतले बताउनु भयो । उहाँले राजापुर नगरपालिकाको राजापुर र मानपुरटपरा र गेरुवा गाउँपालिकाको शान्तीबजारबाट धान खरिद गरिने खबरसन्देशलाइ बताउनु भयो ।
मुख्य शाखा कार्यालय राजापुरका प्रमुख कमलार पाण्डेले सरकार मापदण्ड अनुसार धान सफा, स्वस्थ र नकाटिएको हुनपर्ने बताउनु भयो । धान विक्रिका लागि बैक खाता नम्बर नागरिकताको प्रतिलिपी सहित किसानले धान ल्याउनु पर्ने बताउनु भयो ।
फोटो ः खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खरिद गरेको धान ।








