साैगात श्रेष्ठ, ठाकुरबाबा ।
ठाकुरबाबा नगरपालिकाको आयोजनामा सुरक्षित आश्रय स्थल कार्यविधि सम्बन्धी सामुदायिक विपद् व्यवस्थापन समितिका पदाधिकारीहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
नगरपालिकाको आयोजना तथा भेरी वातावरणीय विशिष्टता समूह (बी-ग्रुप) र प्लान इन्टरनेशनल नेपालको पूर्व तयारी, उत्थानशील तथा सबलीकरण (प्रयास) परियोजनाको सहआयोजनामा कार्यक्रम सम्पन्न भएको हो । सामुदायिक विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउन र विपद्को समयमा सुरक्षित आश्रय स्थलहरूको व्यवस्थापनका लागि तयार पारिएको कार्यविधिका बारेमा सरोकारवालाहरूलाई जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको नगर प्रमुख तिलकराम लम्सालले बताउनुभयो ।
कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख लगायत वन, वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक, वडाअध्यक्षहरू, विपद् फोकल पर्सन, सामुदायिक विपद् व्यवस्थापन समितिका सदस्य तथा पदाधिकारीहरू, एवम् साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण प्रकोप पूर्वतयारी सञ्जालका कोषाध्यक्ष केशवदत्त भट्टले गर्नुभएको थियो । उहाँले कार्यविधिको महत्व र विपद्को समयमा समुदायको भूमिकाबारे प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा ठाकुरबाबा नगर प्रमुख लम्सालले विपद् जोखिम न्यूनीकरण र पूर्वतयारीलाई नगरपालिकाले उच्च प्राथमिकतामा राखेको बताउनुभयो । विपद्को समयमा सुरक्षित आश्रय स्थलको प्रभावकारी व्यवस्थापनले मानवीय तथा भौतिक क्षति कम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्दै उहाँले समुदाय र साझेदार संस्थाको सहकार्य अपरिहार्य रहेकोमा जोड दिनुभयो । अभिमुखीकरण कार्यक्रमलाई सफल पार्न सक्रिय सहभागिता जनाउने सम्पूर्ण व्यक्ति तथा साझेदार संस्थाहरूलाई नगरप्रमुख लम्सालले आभार समेत व्यक्त गर्नुभयो । यस किसिमको तयारीले नगरलाई सम्भावित विपतबाट सुरक्षित राख्न थप बल पुग्ने अपेक्षा गरिएको छ ।








