यज्ञप्रसाद सापकोटा, बर्दिया । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय राजापुरले बर्दियाको गुलरियाबाट पनि धान खरिदको सुरुवात गरेको छ । आज एक औपचारिक कार्यक्रम गर्दै गुलरिया नगरपालिकाको सहकार्यमा धान खरिदको सुरुवात गरेको हो ।
गुलरियामा धान खरिद केन्द्रको सुरुवात सँगै खाद्यका चार ओटा खरिद केन्द्र सञ्चालनमा आएका छन् । खाद्यले राजापुर नगरपालिकाको कम्पनीको हाता भित्र, गेरुवा गाउँपालिकाको शान्तिबजार, बारबर्दिया नगरपालिकाको जयनगर र गुलरिया नगरपालिकाको गुलरिया बजारमा धान खरिद गरिरहेको छ । राजापुरमा १९ गते, शान्तीबजारमा २० गते, जयनगरमा २३ गते देखि धान खरिदको सुरुवात गरेको छ ।
गुलरियामा आइतबारदेखी धान खरिद सुरु गरिएको कम्पनीका वरिष्ठ सहायक नविन प्रसाद आचार्यले बताउनु भयो । गुलरियामा धान खरीद कोटा तीन हजार क्विन्टल भएको बताउनु भयो । हाल सम्म कै पहिलो पटक गुलरियामा खाद्यले धान खरिद सुरु गरेको गुलरिया नगरपालिका वडा न९ का किसान झलकमान हमालले बताउनु भयो । बाहीर व्यापारीले सस्तोमा खरिद गरेपनि खाद्यले धान खरिद गर्दा किसानलाई सहज भएको बताउनु भयो ।
गुलरियामा धान खरिद गरेको खुसी व्यक्त गर्दै गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तीनाथ यादवले किसानहरूको हितको लागि खाद्यले धान खरिद गरेको बताउनु भयो । आगामी बर्षको लागि खाद्यले धान खरिद र भण्डारणका लागि गोदाम र अफिस नै नगरपालिकाले बनाईदिने बताउनु भयो ।
जनशक्ती अभाव र भण्डारण अभाव भएको हुनाले अन्य पालिकामा धान खरिद गर्न नसकिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड राजापुरका कार्यालय प्रमुख कमल पाण्डेले बताउनु भयो । बाँसगढी नगरपालिकामा पनि धान खरिदको लागि नगरपालिकाबाट अनुरोध आएको छ उहाँले भन्नु भयो – जनशक्ती अभाव भएको कारणले अरुपालिकामा धान खरिद सकिएपछि मात्र बाँसगढीमा धान खरिदको सुरुवात हुन्छ । ” राजापुरमा खाद्यको गोदाम खाली नभएकोले गोदामको व्यवस्था गरेका स्थानीय तहमा खाद्यले धान खरिद गर्ने उहाँले बताउनु भयो । कम्पनीले आइतबार सम्म तीन हजार दुई सय क्विन्टल धान खरिद गरिसकेको कार्यालय प्रमुख पाण्डेले बताउनु भयो । यस बर्ष ३० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेको छ । गत बर्ष खाद्यले ३७ हजार क्विन्टल धान खरिद गरेको थियो ।
स्थानीय व्यापारीहरूले सस्तो मुल्यमा धान खरिद गरेपछि कम्पनीका खरिद केन्द्रहरूमा धान बेच्न किसानहरूको भिड लाग्ने गरेको छ । धान बेच्न कै लागि दुई रात सम्म धान बेच्न लाईनमा बस्नु परेको किसानहरूले बताएका छन् । सबै किसानले एकैपटक धान बिक्रिको लागि ल्याएको हुँदा समस्या परेको कार्यालय प्रमुख पाण्डेले बताउनु भयो ।
सरकारले मोटा धानको समर्थन मुल्य ३४ सय ६३ रुपियाँ प्रतिक्विन्टल तोकेको छ भने मध्यम धान प्रतिक्विन्टल तीन हजार छ सय २८ रुपियाँ तोकेको छ ।








