इनरुवा, साउन २६ गते । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ३ र ६ को बिच (बलुवा चौक)मा भएको सडक दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।
सोमबार बिहान पूर्व–पश्चिम लोकमार्गअन्तर्गत इनरुवा लौकही सडक खण्डमा काँकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै गरेको मे. १ ख. १७९९ नम्बरको बस र राजबिराजबाट विराटनगर जाँदै गरेको प्र. २९० १९००१ ज. ००४७ नम्बरको माइक्रो एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाका अनुसार मृत्यु हुनेमा कोशी गाउँपालिका-६ का लक्ष्मण सदा र सप्तरीको महादेवा गाउँपालिका शङ्कर मण्डल रहेका छन् । मृतक थप एक जना पुरूष र एक महिलाको भने पहिचान खुलिसकेको छैन । दुर्घटनामा २८ भन्दा बढी घाइते भएका छन् । केही घाइतेको जिल्ला अस्पताल सुनसरी र विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृत्यु हुने तीन पुरुष र एक महिला छन्, जसमध्ये ग्लोबल कार्डियो न्युरो अस्पताल भोक्राहामा तीन जना पुरुषको शव राखिएको छ भने जिल्ला अस्पतालमा एक महिलाको शव राखिएको छ । ग्लोबल कार्डियोमा १२ जनाको उपचार हुँदै छ । जसमध्ये ३ जना सघन उपचार कक्ष (आइसियू) र अन्य नौजना वार्डमा उपचाररत छन् ।
ग्लोबल कार्डियोका अनुसार समयमै उपचारका लागि ल्याइएका केही गम्भीर घाइतेको ज्यान जोगिएको छ । इनरूवा अस्पतालका अनुसार उपचारका लागि ल्याइएका ६ जनामध्ये ३ जनालाई गोल्डेन अस्पताल उपचारार्थ पठाइएको छ ।
सुनसरी प्रहरीका अनुसार, घटनामा जम्मा २८ जना घाइते भएका छन् । सामान्य घाइते ३ जना डिस्चार्ज भएका छन । प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले दिनुभएको जानकारी अनुसार घाइते हुनेमा मोरङको सुन्दर हरैँचा-९ की अम्बिका राई , खोटाङ रावाबेँसी-२ की निरुता परियार, ३८ वर्षीय निर्मल परियार, सप्तरीको महदेवा-६ का रविन्द्रप्रसाद मण्डल, उदयपुरको चौदण्डिगढी नगरपालिका-५ का ५० वर्षीया रेनुका श्रेष्ठ रहनुभएको छ।
त्यसैगरी, झापाको शिवसतासी नगरपालिका-५ का ३८ वर्षीय खगेन्द्र थापा, भद्रपुर नगरपालिका-९ का ५३ वर्षीय सन्तोष खत्री, उदयपुर बेलस्रोतका २० वर्षीय दीपक वि.क., इलाम चुलाचुली गाउँपालिका-३ का ३६ वर्षीय सविन राई, सप्तरीका रविन्द्र मेहता, गोइठी गापा-३ का ६८ वर्षीय जिवछ महात्मा, खोटाङ हलेसी तुवाचुङ नपा-१० का ८४ को नेत्रलाल गिरीको टाउँको दाहिने खुट्टामा चोट लागेको छ ।
सोही दुर्घटनामा नेत्रलाल गिरी र उहाँको छोरा केदार गिरीसमेत घाइते हुनुभएको छ ।
त्यसैगरी, गोल्डेन अस्पताल विराटनगरमा १० जनाको उपचार भइरहेको छ । घाइतेहरूमा झापा अर्जुनधारा नपा-१, साजनटारका २० वर्षीय सत्य राई, राजविराज-६ का रुद्र राय, मोरङको विराटनगर मनपा–१० का ४८ वर्षीया शाेभा यादव, राजविराज नपा-१२ का ४४ वर्षीय प्रमोद रजक, तिलाठी गापा.–५ का २२ वर्षीय रवि राय, राजविराज न.पा-२ का २४ वर्षीय भोला यादव, राजविराज तेतरी गाछीका ३५ वर्षीय प्रदीप यादव, सुनसरीको कोशी गा.पा-६ श्रीपुरका ६० वर्षीय जोगिन्द्र दास (बाबा), डाक्नेश्वरी न.पा. ३ का ३० वर्षीय अमृता राय रहनुभएको छ । -गाेरखापत्रबाट








