ठाकुरबाबा ।
ठाकुरबाबा नगरपालिका नवौ स्थापना दिवसको अवसरमा १८ औँ बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ । नगरपालिकाले आयोजना गरेको रक्तदान कार्यक्रममा ७७ पिन्ट रगत संकलन भएको छ ।
रक्तदान कार्यक्रममा महिला २१ जना र पुरुष ५६ जना गरि ७७ जनाले रक्तदान गरेका छन् । स्थापना दिवसको अवसर पारेर नगरपालिका भवन परिसरमा रक्तदान कार्यक्रमको आयोजना गरिको हो । बिशेषगरी थालेसोमिया, सिकलसेल एनिमिया, सुत्केरी, दुर्घटनामा परेका विरामीहरूलाई रगत अभाव नहोस भनेर नगरपालिकाले हरेक तीन तीन महिनामा बृहत रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको नगर उपप्रमुख विना भट्टराईले बताउनु भयो ।
नगरपालिकाको आयोजनामा नेपाल रक्तदाता स्वयंसेवि समाज ठाकुरबाबाको समन्वय र नेपाल रेडक्रस सोसाईटी बर्दियाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । नगरपालिकाले रक्तदान कार्यक्रमको आयोजना गर्दा बर्दिया र बाँकेका बिरामीहरूलाई रगतको आपुर्ती सहज भएको नेपाल स्वयंसेवि रक्तदाता समाज ठाकुरबाबाका अध्यक्ष छविलाल लम्सालले बताउनु भयो । उहाँले यस अघिको रक्तदान कार्यक्रममा ९४ जनाले रक्तदान गरेको बताउनु भयो । उहाँले संकलन गरिएको रगत गुलरिया, कोहोलपुर र नेपालगञ्जको भेरी अस्पतालमा सञ्चालित रक्तसञ्चार केन्द्रमा पठाउने गरिएको बताउनु भयो ।

स्थानीय सरकारको आयोजनामा नियमित सबै भन्दा धेरै रगत संकलन हुने लुम्बीनी प्रदेश मै पहिलो रक्तसञ्चार कार्यक्रम भएको ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख तिलकराम लम्सालले बताउनु भयो । उहाँले नवनिर्मित भवनमा नगरअस्पताल सरेपछि रक्तसञ्चार सेवा समेत सञ्चालन गर्ने उहाँले बताउनु भयो । धेरै पटक रक्तदान गरेका १० जना रक्तदाताहरूलाई ठाकुरबाबा नगरपालिकाले स्थापना दिवसको अवसरमा सम्मान गरेको छ ।








