यज्ञप्रसाद सापकोटा
बर्दिया । बारबर्दिया नगरपालिका वडा नं ७ सोनपुरबाट २०५९ साउनमा रम्भापुर ब्यारेकबाट आएका तत्कालिन शाही नेपाली सेनाको टोलीले ६ जनालाई घर मै सुतिरहेको अवस्थामा तीन घण्टामा फिर्ता ल्याउँछौँ भनेर लगेका थिए । तर उनीहरू २२ बर्ष वितिसक्दा समेत घर फर्केका छैनन् ।
२०५९ साल कार्तिकमा राजापुर नगरपालिका वडा नं ६ मा रहेको मानपुर माध्यमिक विद्यालयबाट तत्कालिन शाही नेपाली सेनाले एकै पटक १४ जना बेपत्ता पारेका थिए । अझै पनि बेपत्ताका परिवारहरू बेपत्ता पार्नु भन्दा अगाडि राखीएको विद्यालयको कोठामा आएर आँशु झार्ने गर्दछन् ।
शशस्त्र द्वन्द्वको समयमा घर मै बसीरहेका युद्धमा सहमागी नभएका निहत्था व्यक्तीहरूलाई तत्कालिन राज्य र विद्रोही पक्षले बेपत्ता पारेका थिए । बिना कारण सामान्य आरोप लगाएर युद्धमा सहभागी नभएका व्यक्तीहरूलाई तत्कालिन समयमा बेपत्ता पारिएको बेपत्ता परिवारले बताउँछन् । राजापुर नगरपालिका वडा नं ६ की शिवा थारूले आफ्नो श्रीमान्लाई राती सुतिरहेको अवस्थामा सेनाले लगेर बेपत्ता पारेका बताउनु भयो ।
शान्ति सम्झौता भएको १९ बर्ष पुगेपनि हाल सम्म बेपत्ताको अवस्था सार्वजनिक भएन । राजापुर द्वन्द्वपीडित समितिको अध्यक्ष एवं बेपत्ताकी श्रीमती लौटन थारूले बताउनु भयो –“अब त अति भयो हामीलाई कि त सास चाहियो की त लास चाहियो ।” बेपत्ताको अवस्था सार्वजनिक नहुँदा एका तर्फ परिवारको पिडा झन् झन् बल्झिँदै गएको छ भने सामाजिक साँस्कृतीक र कानुनी समस्या बल्झिदै गएको उहाँले बताउनु भयो ।
अहिले बेपत्ताका परिवारलाई सामाजिक रुपमा तिरस्कृत गर्ने, काज क्रिया गर्न बाध्य बनाउने, दबाब दिने गरिएको पीडित परिवारहरूले बताउँछन् । “हामीलाई अझै पनि आफ्नो मान्छे आउँछन् जस्तो लाग्छ । तर घरपरिवार र समाजले तेरो श्रीमान् मरिसक्यो, आउँदैन, काजक्रिया गर, मृत्यु दर्ता बना भन्छन् ।” नाम नखुलाउने सर्तमा एक बेपत्ताको श्रीमतीले बताउनु भयो –“कतिपय बेपत्ताका परिवारले दबावमा आएर कुशको शव बनाएर काजक्रिया गरि मृत्यु दर्ता गरेका छन् ।”
बारबर्दिया नगरपालिका ७ सोनपुरका २२ बर्ष अघि बेपत्ता भएका टटेराम थारूकी श्रीमती रामदुलारी थारूले अब आउने आश मरेको हृुनाले कुशको शव बनाएर काजक्रिया गरेको बताइन् । सोही ठाउँका बेपत्ता जग्गु थारूकी श्रीमती फिरिया थारूले श्रीमान्को काजक्रिया नगरी मर्छु की भन्ने डरले काजक्रिया गरेको बताउनु भयो । उहाँले भन्नु भयो –‘छोराहरू पनि अलग अलग भइसके अब मृत्यु दर्ता गरेर अंशवण्डा पनि गरिदिन्छु ।’
[caption id="attachment_283" align="aligncenter" width="300"]
बेपत्ता रामदास थारुकाे कुशकाे शव बनाएर अन्त्येष्टि गरिदै । फाेटाे मानबहादुर चाैधरी ।[/caption]
बर्दिया जिल्ला शशस्त्र द्वन्द्वको क्रममा नेपाल मै सबै बढि २६१ जना व्यक्ती बेपत्ता पारिएको जिल्ला हो । त्यसैगरी तीन सय २८ जना व्यक्तीको शशस्त्र द्वन्द्व कै क्रममा मृत्यु भएको तथ्याङ्क रहेको छ । द्वन्द्वपीडित समिति बर्दियाका अध्यक्ष भागिराम चौधरीका अनुसार ५० जना भन्दा बढि बेपत्ताका परिवारले काजक्रिया गरिसकेका छन् । त्यसैगरी कतिपय परिवारले बेपत्ता पारिएका व्यक्तीको मृत्यु दर्ता समेत गराइसकेका छन् ।
समाजको दबाव, सामाजिक सास्कृतिक कारणले गर्दा बेपत्ताका परिवारले काजक्रिया गर्ने गरेको अध्यक्ष चौधरीले बताउनु भयो । अध्यक्ष चौधरीका अनुसार समाज र परिवारले अब फर्केर आउँदैन, मरिसक्यो, काजक्रिया नगरेको कारणले घरमा शान्ती भएको छैन, परिवारका सदस्य बिरामी परे भनेर दबाव दिएको कारणले काजक्रिया हुने गरेको छ । उहाँले भन्नु भयो –“कतिपय बेपत्ताका श्रीमती र छोरा छोरी नमान्दा नमान्दै दबाव सहन नसकेर काजक्रिया गरेका छन्, अंशबण्डा लगाएत कानुनी समस्याका कारणले पनि बेपत्ताको मृत्यु दर्ता गरेको पाइन्छ ।” बेपत्ताको सुचिबाट हटाउँछन् भन्ने डरले समेत पीडित परिवारहरू नखुलेको उहाँले बताउनु भयो ।








