गुलरिया ।
बर्दियाका भूमिहिन् सुकुम्बासीहरू आन्दोलित भएका छन् । डिभिजन वन कार्यालयले गत १४ गते वन क्षेत्रको वस्ती हटाउने भन्दै सूचना प्रकाशन गरेपछि उनीहरू आन्दोलित भएका हुन् ।
बर्दिया जिल्लाका विभिन्न फाँटामा वन क्षेत्रमा बसोबास गरेका भूमिहिन सुकुम्बासीहरूलाई १५ दिन भित्र आवास र खेती छोड्नका लागि डिभिजन वन कार्यालयले सूचना जारी गरेको थियो । सो सूचाना अनुसार बर्दियाका अधिकांश भूमिहिन् सुकुम्बासीहरूको उठिबास लाग्ने भएपछि आन्दोलनको सुरुवात गरेका हुन् ।
संयुक्त भूमि संघर्ष समिति बर्दियाको अगुवाइमा बर्दिया जिल्ला भरीका सयौँ भुमिहिन् सुकुम्बासी परिवार वर्षातको प्रवाह नगरी आन्दोलनमा उत्रिएका छन् । सरकारको विरोधमा नाराबाजी गर्दै उनीहरू जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री समक्ष ज्ञापन पत्र बुझाएका छन् ।

ज्ञापनपत्रमा डिभिजन वन कार्यालयले बस्ती खाली गर्ने सूचना अविलम्ब फिर्ता गर्नुपर्ने , भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूलाई यथास्थानमा व्यवस्थापन गर्नुपर्ने, आवादीमा परिणत भएको वन क्षेत्रलाई आवादी क्षेत्रमा परिणत गर्नुपर्ने र राष्ट्रिय भूमि आयोगको कामलाई तिव्रता दिनु पर्ने माग गरिएको छ ।
मागलाई वेवास्ता गरि बल प्रयोग गरेमा चरणबद्ध रुपमा आन्दोलन गर्ने र आन्दोलनको क्रममा धनजनको क्षति भएमा नेपाल सरकार नै जवाफदेही हुने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
भूमिहिनकाे आन्दाेलनलाइ तीन राजनीतिक दलले यस अघि नै समर्थन जनाइसकेका छन् ।








