काठमाडाैँ ।
बर्दियाका वन्यजन्तु पीडित नागरिकको न्यायको लागि काठमाडौँमा विरोध प्रदर्शन भएको छ । वन्यजन्तु पीडित नागरिक समुह बर्दियाको आयोजनामा शान्ति बाटिका रत्नपार्कमा विरोध प्रर्दशन गरिएको हो ।
विरोध प्रदर्शनमा राष्ट्रिय निकुञ्ज चाहिन्छ तर सुरक्षित बस्ती पनि, वन्यजन्तु संरक्षण सँगै मानव सुरक्षा, राज्यको मौनता पनि हिंसा हो, बर्दिया रोइरहेको छ सरकारले सुन्नु पर्छ लगाएतका नारा सहित विरोध प्रदर्शन गरिएको हो । वन्यजन्तु पीडितहरुले राष्ट्रिय निकुञ्ज नजिकका बासिन्दाको जीवन विमाको व्यवस्था गर्नु पर्ने माग समेत गरेका छन् ।
बर्दियामा लगातार वन्यजन्तुको आक्रमणबाट मानिसको मृत्यु हुँदा समेत सरकार मौन बसेको हुनाले विरोध प्रर्दशन गरिएको प्रदर्शनमा सहभागी शिवराज लम्सालले बताउनु भयो । उहाँले वन्यजन्तुको उचित व्यवस्थापन गर्नुपर्ने र जनताको जिउ धनको सुरक्षा गर्नुपर्ने बताउनु भयो ।

बर्दियामा विगत् साउन यता चितुवाको आक्रमणबाट पाँच जना, पाटेबाघको आक्रमणबाट एक जना र जंगली हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ । त्यसैगरी गोहीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता रहेका छन् ।








