यज्ञप्रसाद सापकोटा
बर्दिया ।
कुनै समयमा थारु समुदायले पाहुना वा विशेष अतिथी घरमा आउँदा भात खुवाउन प्रयोग गरिने काला नमक धान लोप हुँदै गएपछि ठाकुरबाबा नगरपालिकाले यसको संरक्षण र प्रर्वद्धनको सुरुवागत गरेको छ ।
रैथाने बालीको रुपमा रहेको काला नमक धान खानको लागि स्वादिलो र वास्नादार हुने गर्दछ । स्थानीय स्तरमा यदा कदा पाइने काला नमक धानको ठाकुरबाा नगरपालिकाले विउ उत्पादन गर्न थालेको छ ।
नगरपालिकाले सघन कृषि कार्यक्रम अन्तर्गत ५ विगहा जग्गा भाडामा लिएर लोपोन्मुख कृषि बालीको खेति गरीे विउ उत्पादन गरेको छ । रैथाने धान काला नमक र मसिनो जातको धान ठाकुरबाबा नगरपालिका ५ वनविर मा खेती गरिएको छ । उक्त खेति कार्यमा पालिका अन्तर्गत रहेका कृषि शाखा कार्यरत कर्मचारी र ६ जना कृषि प्राविधिकले प्रशिक्षार्थीको रुपमा काम गरेको कृषि प्राविधिक विरेन्द्र रावतले बताउनु भयो ।
यस बर्ष नगरपालिकाले गरेको खेतीमा २० क्विन्टल काला नमक धान उत्पादन भएको छ जसमध्ये ग्रेडिङ्ग गरेर करिब १५ क्विन्टल उच्च गुणस्तरको विउ उत्पादन गरिएको छ । भने विउ बाहेकको काला नमक धान खायनमा प्रयोग गर्ने नगरपालिकाले योजना बनाएको छ । ‘ठाकुरबाबा’ ब्राण्डको चामल उत्पादन गरी सहकारीहरू सँग समन्वय गरेर बजारीकरण गरेको ठाकुरबाबा नगरपालिकाका कृषि शाखा प्रमुख ध्रुवराज बमले बताउनु भयो । उहाँका अनुसार कालानमक सँगै मसिनो बास्नादार ३० क्विन्टल धान उत्पादन गरि बजारीकरण गरिएको छ ।
नागरपालिकाले उत्पादन गरेको ‘ठाकुरबाबा’ नामक काला नमक चामलको मुल्य १७० रुपैयाँ प्रतिकेजीमा विक्री भईरहेको छ । पर्यटकिय क्षेत्रलाई लक्षित गरी स्वादिलो धानको उत्पादन गरिएको बताउँदै पर्यटकहरूलाई खुवाउनका लागि नगरपालिकाले अग्रसरता लिएको शाखा प्रमुख बमले बताउनु भयो । उहाँले भन्नुभयो –‘अब बर्दियामा आउने पर्यटकहरुले काला नामक र मसिनो बास्नादारको भात खाने पाउनेछन् ।’
५० प्रजातीका रैथाने बालीको प्रवद्र्धन गरिँदै
कालानमक, मसिनो बास्नादार, अनदी, तिल्की लगाएतका धान बाली, थारु आलु, स्थानीय हिउँदे सिमि, दलहन, मसला जन्यबाली लगाएतका ४५ प्रजातीका रैथाने बालीको प्रवद्र्धन गर्न थालिएको छ ।
केही बर्ष अघि देखि खेती सुरुवात गरेको थारू आलु हाल १५ विगहा क्षेत्रफलमा पालिकाले नै खेती गरेको छ । भने यस बर्ष देखि स्थानीय सिमिको समेत खेतीको सुरुवात गरीएको कृषि शाखा प्रमुख बमले बताउनु भयो । कृषकहरूले हेर्ने र यसरी पनि खेती हुने रहेछ भनेर सिकाउनका लागि खेती गरिएको उहाँले बताउनु भयो ।
लोपोन्मुख बालीको संरक्षणका साथसाथै किसानलाई पाठ शालाको रुपमा कृषिमा भित्रिएको प्राविधिक ज्ञान सिकाउने उद्देश्यले उक्त कार्यक्रम संचालन गरिएको ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तीलकराम लम्सालले जानकारी दिए । उहाँले लोपोन्मुख रैथाने कृषि बालीको संरक्षण गरी उन्नत विउ उत्पादन गर्ने लक्ष्य लिइ खेती सुरु गरिएको बताउँदै आगामी दिनमा थप क्षेत्रफल विस्तार गरी चक्लाबन्दी खेती र यान्त्रीकरणको प्रयोगलाई प्रोत्साहन गरिने नगरप्रमुख लम्सालले बताउनु भयो ।








