बर्दिया ।
जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउन जाँदा जबरजस्ती करणी मुद्दामा सजाय तोकिएपछि फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा बढैयाताल गाउँपालिका–७ निवासी २९ वर्षीय कृष्ण चमार रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय बर्दियाका अनुसार चमार नयाँ नागरिकता लिन कार्यालयमा आएको समयमा गोप्य सूचनाका आधारमा प्रहरीको सहयोगमा पक्राउ गरिएको हो ।
पक्राउ परेका चमारलाई जिल्ला प्रहरी कार्यालयमार्फत जिल्ला अदालतमा पेस गरिएको छ । अदालतको आदेशअनुसार चमारलाई आजै बर्दिया कारागार चलान गरिएको जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रशासकीय अधिकृत लोकप्रसाद ढकालले जानकारी दिनुभयो । ढकालका अनुसार जबरजस्ती करणी मुद्दामा बर्दिया जिल्ला अदालतले २०७२ फागुन १० गते चमारलाई १० वर्ष कैद सजाय र ५० हजार जरिवाना सुनाएको थियो। त्यसपछि उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले २०७३ फागुन ८ गते पाँच वर्ष कैद सजाय हुने फैसला गरेको थियो। सर्वोच्च अदालतले २०७९ साउन २९ गते जिल्ला अदालतको फैसलालाई सदर गरेको थियो ।








