बर्दिया ।
बर्दियामा लागुऔषध ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन् । भारतबाट नेपाल तर्फ आउँदै गरेका जुम्ला घर भएका दुई जना युवाहरूलाई ब्राउनसुगर सहित प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जुम्ला कनकासुन्दरी गाउँपालिका वडा नं. ८ बस्ने ३२ वर्षिय निरजङ शाही र वडा नं ४ बस्ने २४ वर्षिय जानस कामी रहेका छन् । दुवैजना भारतबाट नेपाल तर्फ आउँदै गर्दा बढैयाताल गाउँपालिका वडा नं ८ सागुनघारीबाट पक्राउ परेका हुन् । प्रहरीले शंका मानी चेकजाँच गर्दा निरजङ शाहीको पाइन्टको गोजिबाट २९० ग्राम लागुऔषध ब्राउनसुगर फेला पारेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैजनालाई इलाका प्रहरी कार्यालय मैनापोखरमा राखेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रेशम बोहोराले बताउनु भयो ।








