यज्ञप्रसाद सापकोटा, बर्दिया ।
बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाको १६ हजार हेक्टर कृषियोग्य जमिनमा सिंचाइ सुविधा पुर्याउने राजापुर सिंचाइ प्रणालीलाई सुधार गर्न थालिएको छ । वर्ष भरी नै सिंचाइ गर्ने गरि निर्माण गरिएको सिंचाइ प्रणाली अव्यवस्थित र कमजोर हुँदा किसानहरूले हैरानी खेपीरहेका थिए ।
एसियाली विकास बैंक -एडीबी)को ऋण सहयोगमा सिंचाइ आधुनिकीकरण अभिवृद्धि आयोजना सञ्चालन भइरहेको छ । सिंचाइ प्रणाली सुधार गर्नका लागि ४ अर्ब ५८ करोड ९५ लाख रुपियाँ लगानी भइरहेको छ । सन् २०२५ जुनमा सम्झौता भई २०३० सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको यो आयोजना राजापुर क्षेत्रकै सबैभन्दा ठूलो सिंचाइ पूर्वाधार योजनामध्ये एक हो ।
आयोजना तीन चरणमा कार्यान्वयन गरिनेछ । हाल आयोजनाका दुईवटा ठेक्का -टेन्डर) मार्फत निर्माण कार्य अघि बढिरहेको छ । आयोजनाको मुख्य उद्देश्य राजापुर सिँचाइ प्रणालीको स्तरोन्नति, पुर्नस्थापना तथा आधुनिकीकरण गरी कर्णाली नदीको पानीलाई व्यवस्थित रूपमा नहर प्रणालीमा प्रवाह गराइ वर्षभरि नै किसानलाई सिँचाइ सुविधा उपलब्ध गराउनु रहेको राजापुर सिंचाइ व्यवस्थापन कार्यालयले जनाएको छ । सिंचाइ व्यवस्थापनलाई थप प्रभावकारी र दिगो बनाउँदै कृषि उत्पादन वृद्धि गर्ने लक्ष्य पनि आयोजनाले लिएको छ ।
राजापुर सिँचाइ व्यवस्थापन कार्यालयका सूचना अधिकारी तथा प्रमुख डिभिजन इन्जिनियर विक्रम राईका अनुसार चारगाउँ र नयाँगाउँ क्षेत्रमा पानी निकास संरचना -एस्केप) निर्माण कार्य सम्पन्न भइसकेको छ । त्यस्तै कर्णाली नदीमा २ किलोमिटर तटबन्ध -रिभर बैंक संरक्षण) निर्माणको काम सुरु भइसकेको छ भने एक वटा बालुवा थिग्रयाउने संरचना निर्माण कार्य पनि अगाडि बढिरहेको छ । हाल पुनः दुईवटा बोलपत्र आह्वान भइसकेका छन् ।
आयोजना अन्तर्गत लामो समय देखि बुढीकुलो मुहान सम्म पानी ल्याउनका लागि कष्ट भोगिरहेको स्थानमा आठ सय मिटर लामो पक्की संरचना बनाइने छ । हरेक वर्ष किसानले कच्ची बाँध बनाउने स्थानमा बिगबोल्डर लगाइ समस्या समाधान गर्ने योजना रहेको छ । जसले गर्दा पटक पटक जाली लगाएर मुहान सम्म पानी ल्याउनु पर्ने र कच्ची बाँध बाध्न जानुपर्ने बाध्यता हट्ने सूचना अधिकारी राईले बताउनु भयो । त्यसैगरी गोला कुलोमा सेटलिङ बेसिन निर्माण तथा साविकका ११ वटै गाविस अन्तर्गत आवश्यक पर्ने स्थानहरूमा नहर लाइनिङ गर्ने कार्य अघि बढाइएको छ ।
संयुक्त बुढीकुलो गोला–पाताभार जल उपभोक्ता समितिका उपाध्यक्ष धनबहादुर शाहीले आयोजना सम्पन्न भएपछि वर्षभरि नै कर्णाली नदीको पानी नहर मार्फत खेतसम्म पुर्याउन सहज हुने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार आधुनिक सिँचाइ प्रणाली सञ्चालनमा आएपछि किसानले समयमै सिँचाइ सुविधा पाउने, खेतीपातीमा सहजता आउने र कृषि उत्पादनमा उल्लेखनीय वृद्धि हुने अपेक्षा गरिएको छ । उहाँले भन्नु भयो –‘पानीको अभावमा किसानहरू हरेक वर्ष नदीमा बाँध बाध्न जानुपर्ने र ज्यान गुमाउनु पर्ने बाध्यता छ त्यसको अन्त्य हुन्छ की भन्ने अपेक्षा हो ।’
यो आयोजना सम्पन्न भएपछि राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका हजारौँ किसान प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् । सिँचाइ प्रणालीलाई वर्षभरि सञ्चालन योग्य बनाउने लक्ष्यसहित अघि बढाइएको यस आयोजनाले यस क्षेत्रको कृषि उत्पादन, किसानको आम्दानी तथा खाद्य सुरक्षामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । विशेष गरि चैते धानको खेती राम्रो हुने राजापुर क्षेत्रमा वर्षभरी नै सिंचाइ भएमा उत्पादन बढ्ने गेरुवा गाउँपालिका वडा नं ४ गिदरपुरका पुस्कर काफ्लेले बताउनु भयो ।








