यज्ञप्रसाद सापकोटा, बर्दिया ।
लुम्बनीप्रदेशका स्वास्थ्य मन्त्री दिपेन्द्र बहादुर पुनले स्वास्थ्यको क्षेत्रमा नेपालमा रहेका तीन तहका सरकार तीन तिर फर्केको बताउनु भएको छ । उहाँले नीतिगत रूपमा सुधार नगर्ने हो भने स्वास्थ्य क्षेत्रको सुधार गर्न कठिन हुने बताउनु भयो ।
बर्दियाको गुलरियामा स्वास्थ्य क्षेत्रमा बर्दियामा भएका कामहरूको समिक्षा कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनु भयो । स्वास्थ्य क्षेत्रमा धेरै नीतिगत जटिलता भएको बताउँदै उहाँले तीन ओटै तहमा नीतिगत सुधार गर्न आवश्यक रहेको बताउनु भयो । सरकार सरकार विच तालमेल नहुँदा स्वास्थ्यका समस्याहरू समाधान हुन नसकेको उहाँले दावी गर्नु भयो । ‘स्क्रिनिङ्ग गर्नेले औषधी खरिद गर्न नपाउने, औषधी किन्नेले स्क्रिनिङ्ग गर्न नपाउने यस्ता नीति छन्, सुधार गर्नुपर्छ ।’ उहाँले भन्नु भयो ।
मन्त्री पुनले हाम्रा नीति तथा कार्यक्रमहरू भद्रगोल भएको बताउँदै यस्तो नीति तथा कार्यक्रमले भद्रगोल नै परिणाम ल्याउने बताउनु भयो । व्यवस्थित कार्यक्रम गराइयो भने व्यवस्थित परिणाम आउँछ । अब कस्तो बनाउने भन्ने कुरा सबै पक्षले छलफल गरेर कार्यन्वयन गर्न जरुरी भएको बताउनु भयो ।
विद्यालय शिक्षालाई स्वास्थ्य सुधार तर्फ जोड नदिने हो भने यो समस्या सँधै रहिरहने बताउनु भयो । स्वास्थ्य क्षेत्रलाई सुधार गर्न शिक्षा, स्वास्थ्य र कृषीलाई परिपुरकको रूपमा लिनुपर्ने उहाँले बताउनु भयो ।
मन्त्रीपुन स्वास्थ्य कार्यालय बर्दियाले आयोजना ंगरेको जिल्ला स्तरीय वार्षिक समिक्षा तथा योजना तर्जुमा कार्यक्रममा सहभागी हुन बर्दिया पुग्नु भएको थियो । स्वास्थ्य कार्यालयले बर्दिया जिल्लाका आठ ओटै पालिकाका स्वास्थ्य शाखाहरूले वर्ष भरी गरेका कामहरूको बारेमा समिक्षा गरेको छ । सोही क्रममा बर्दिया जिल्लामा स्वास्थ्य क्षेत्रमा आधारमुत स्वास्थ्य सेवामा अभ्यास चुनौती र अवसर विषयक प्यानल छलफलको समेत आयोजना गरिएको थियो ।









