यज्ञप्रसाद सापकोटा
बर्दिया।
परम्परागत रुपमा सुन चाल्ने र माछा मार्ने व्यवसाय गर्दै आएका बर्दियाका सोनाहाहरू अहिले दशंैँ खर्च जुटाउनका लागि धमाधम सुन चाल्न थालेका छन् । गेरुवा गाउँपालिका वडा नं २ राजीपुरका सोनाहाहरू दिनहुँ कर्णाली नदीमा सुन चाल्न व्यस्त देखिन्छन् ।
राजपुरका ३५ घरधुरी मध्ये ३२ घरधुरी सुन चाल्न व्यस्त रहेका छन् । कर्णाली नदीको बगरमा दिनहुँ सुनचाल्ने सामाग्री बोकेर सुन चल्न पुगेको देखिन्छ । हरेक घरबाट तीन जन सम्म सुन चाल्न पुग्ने सोनाहाहरू बिदाको दिनमा बालबालिका सहित बिहानै पुग्ने गरेका छन् । नदी मै माछामार्ने खाना पकाउने र सुन चाल्ने दैनिकि बनेको गेरुवा गाउँपालिका वडा नं २ राजीपुरका कुस्मी सोनाहाले बताउनु भयो । अरुदिनमा केटाकेटीलाई विद्यालय पढाएर खाजा बोकेर नदीमा जान्छौँ । उहाँले भन्नु भयो –"विदाको दिनमा बालबालिकका सहित भान्साका भाँडा बोकेरै नदीमा पुग्छौँ ।"
अहिले खेतपातीको पनि खासै काम नभएको र दशैँ खर्च जुटाउनु पर्ने भएको हुँदा गाउँका सबै जना सुन चाल्न व्यस्त भएको महिमा देवी सोनाहाले बताउनु भयो । उहाँले भन्नु भयो –"मेहनत गरेर सुन चाल्यो भने दशैँ खर्च सम्म जुटाउन सकिन्छ । " पहिलेको तुलनामा कम सुन भेटिने बताउँदै उहाँले सुन राम्रो पाइने ठाउँमा जानका लागि बर्दिया राष्ट्रिय निकुञ्जले रोक्ने गरेको गुनासो गर्नु भयो ।
दिनभरी मेहनत गरेमा एक घरपरिवारले एक देखि डेढ लाल सम्म सुन भेटाउने गरेको महिमाले बताउनु भयो । सुन खरिद गर्नेले गाउँ मै आएर प्रतिलाल २४ सयका दरले खरिद गर्ने गरेको उहाँले बताउनु भयो ।
नेपाल सोनाहा संघका पूर्व अध्यक्ष घुमलाल सोनाहाले पहिलेको तुलनामा सुन खासै नपाइने हुनाले दैनिक ज्याला सम्म उठ्ने गरेको बताउनु भयो । सोनाहाका परिवारलाई सुनचालेर र माछा मारेर जिविकोपार्जन नभएको हुनाले अन्य पेशा अपनाउनु परेको गुनासो उहाँले गर्नु भयो । "आफ्नो पुख्र्यौली पेशा जोगाउनु पनी छ तर जिविकोपार्जन हुँदैन । " उहाँले भन्नु भयो –"सरकारले यही पेशालाई व्यवस्थीत र सहज बनाइदिएमा सोनाहाको परम्परागत पेशा जोगिने थियो ।"
बर्दियामा तीन सय घरधुरीमा करिब आठ सय जना सोनाहा रहेका छन् । नेपाल भरी एक हजार एक सय ८२ जना सोनाहा जातीको बसोबास रहेको सोनाहा विकास समाजका अध्यक्ष इन्द्र सोनाहाले बताउनु भयो । सुन चालेर जिविकोपार्जन नभएकोले अन्य पेशामा आश्रीत हुन परेको उहाँले बताउनु भयो । न्यून जनसंख्या भएपनि लोपोन्मुख आदीवासी जनजातीको सुचिमा नपरेको गुनासो उहाँले गर्नु भयो । सर्वोच्च अदालतले २०७२ मंसिरमा सोनाहालाई लोपोन्मुख आदीवासी जनजातीको सुचिमा राखेर अरु जाती सरह सामाजिक सुरक्षा प्रदान गर्नुपर्ने सरकारलाई निर्देशन दिएपनि सुचिकृत गरेको छैन । नेपालमा हाल १० ओटा जाति लोपोन्मुख आदिवासी जनजातिको सुचिमा रहेका छन् ।








