बर्दिया । बर्दियाको गुलरिया नगरपालिका भित्रका सामुदायिक वनका पदाधिकारीहरूलाई तीन दिने क्षमता विकास तालिमको आयोजना गरिएको छ । गुलरिया नगरपालिकाको आर्थिक सहयोगमा सामुदायिक वन उपभोक्ता महासंघ गुलरिया नगर महासंघले तालिमको आयोजना गरेको हो ।
तालिममा गुलरिया नगरपालिका भित्रका ४५ ओटा सामुदायिक वन, नीजि वन र नगरमहासंघका पदाधिकारीहरू सहभागी भएका छन् । तालिममा सामुदायिक वनको व्यवस्थापन, वन सम्बन्धी वर्तमान ऐन कानुन र नीति तथा कार्यक्रम र पदाधिकारीहरू नेतृत्व विकासको बारेमा प्रशिक्षण दिइने छ । तालिम सोमबार देखि सुरु भएर बुधबार सम्म सञ्चालन हुने सामुदायिक वन उपभोक्ता महासंघ गुलरिया नगरमहासंघकी अध्यक्ष शान्ता ज्ञावलीले जानकारी गराउनु भयो ।
तालिमको उद्घाटन गर्दै सामुदायीक वन उपभोक्ता महासंघ नेपालका केन्द्रिय उपाध्यक्ष महम्मद कर खाँले सामुदायिक वनका उपभोक्ताहरुले सरकारले गर्न नसकेको वन संरक्षण गरेर देखाइदिएको बताउनु भयो । उहाँले भन्नु भयो –"वन संरक्षणको जिम्मा समुदायलाई नदिएको भए अहिले सम्म नेपालको वन कहानीमा मात्र सिमित हुने थियो, अहिले सामुदायिक वन विश्व मै उत्कृष्ट बनेको छ ।"
उपभोक्ताले वन संरक्षण गरेपनि अहिले सरकारले उपभोक्ताको अधिकार खोसेको बताउनु भएको छ । उपभोक्ताले आफ्नो वनको काठ प्रयोग गर्नका लागि सरकारलाई मोटो रकम कर तिर्नुपर्ने बाध्यता रहेको बताउनु भयो । उहाँले भन्नु भयो –"वन संरक्षणमा महत्वपूर्ण भूमिका खेलेका उपभोक्ता नै अहिले पीडित बनेका छन् त्यो अन्त्य हुनुपर्दछ ।" बर्दियामा मात्रै पनि कम्तिमा तीन हजारले रोजगार पाएको उहाँले दावी गर्नुभयो ।

सामुदायिक वन उपभोक्ता महासंघ बर्दियाका अध्यक्ष गोपाल चौधरीले सरकारले उपभोक्ताको अधिकार कुन्ठित गर्ने कार्य कसैले पनि नगर्न आग्रह गर्नुभयो । गुलरिया नगरपालिका वडा नं ४ का वडाध्यक्ष सुरेश गौतमले सामुदायिक वनले आर्थिक सामाजिक र राजनीति क्षेत्रको विकासका लागि महत्वपुर्ण योगदान खेलेको बताउनु भयो । वडा नं ५ का अध्यक्ष मुमबहादुर मल्लले सामुदायीक वनका सबैमिलेर संरक्षण गरेको बताउँदै सामुदायीक वनको क्षमता विकासका लागि हातेमालो गरेर अगाडि बढ्न बताउनु भयो । समाजसेवी गेहेन्द्र ढकालले सामुदायीक वनमा जडिबुटी खेती गरेर उपभोक्ताको आर्थिकोपार्जन तर्फ जोड दिनुपर्ने बताउनु भयो ।
कार्यक्रममा फेकोफन तानसेन नगर महासंघकी अध्यक्ष भवानी गौतमले सामुदायिक वनका पदाधिकारीको क्षमता विकास भए मात्र सामुदायिक वन व्यवस्थीत हुनेमा जोड दिँदै तालिमको आयोजना गर्ने र तालिमका लागि आर्थिक सहयोग गर्ने दुवै निकायलाई धन्यवाद व्यक्त गर्नु भयो ।









