बर्दिया । बढैयाताल गाउँपालिका वडा नं ९ शक्तिनगर नजिक रहेको ग्याङ नदिमा निर्माण भएको पुलको एप्रोच रोड कटान हुँदा पुल जोखिममा परेको छ । पुल सम्म पुग्नका लागि निर्माण गरिएको सडक र पुलको संरक्षणको लागि निर्माण गरिएको पंखा पुल हस्तान्तरण गर्न भन्दा अगाडि नै भासिएको छ ।
पुलले शक्तिनगर, भैसाही, बारबर्दिया, बेलभार लगाएत बारबर्दिया नगरपालिकाबासी हुलाकी सडकसँगको सहज पहुँच बनाएको थियो । सडक भासिएपछि आवत जावत गर्न कठिन भएको छ । निर्माण गरिएको चार महिना नबित्दै पहिलो वर्षात मै सडक भासिएको बढैयाताल गाउँपालिका वडा नं ९ शक्तिनगरका ४२ वर्षिय मानबहादुर थारूले बताउनु भयो । नयाँ माटो राम्रो सँग नदाबेको हुनाले सडक भासिएको बताउँदै रोकथाम नगर्ने हो भने आवतजावत नै बन्द हुन सक्ने उहाँले खबरसन्देशलाई बताउनु भयो ।
लामो समयको पर्खाइ पछि पुल निर्माण भएको बताउँदै निर्माण नहुँदै आवत जावतमा समस्या भएकोले दुःख लागेको बढैयाताल वडा नं ९ जनतानगरका अटोचालक प्रदेशु थारूले बताउनु भयो । “बर्र्सातको समयमा वारी पारी नै गर्न नसक्ने अवस्था थियो ।” उहाँले भन्नु भयो –“अब त सजिलो भयो भनेको झन् जोखिम भयो । तुरुन्तै नबनाए पुल नै बग्ने डर छ । ”
सडक पुनः निर्माणका लागि सडक पूर्वाधार विकास कार्यालय बर्दिया, प्रदेश सरकार र प्रदेश सभासद्हरूलाई जानकारी गराएको बढैयाताल वडा न ९ का वडाध्यक्ष बिरबहादुर थारूले बताउनु भयो । उहाँले निर्माण कम्पनीले नयाँबाटोको कम्प्रेसन राम्रो सँग नगरेको कारणले सडक भासिएको बताउँदै तत्काल पुर्ननिमाण नगरे पुल नै जोखिममा पर्ने बताउनु भयो ।
बढैयाताल गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी अधिकारीले प्रदेश र संघका कार्यालयले गर्ने कुनैपनी विकास निर्माणका कार्यहरू स्थानीय सरकारसँग समन्वय नगरी गर्ने गरेको गुनासो गर्नुभयो । उहाँले निर्माण अवधिमा पर्याप्त अनुगमन नभएको कारणले यस्तो समस्या आउने गरेको खबर सन्देशलाई बताउनु भयो ।
ग्याङ्ग नदीको पूल सडक पूर्वाधार विकास कार्यालय बर्दियाले करिब ७ करोड लगानीमा निर्माण गरेको हो । सडक पूर्वाधार विकास कार्यालय बर्दियाका प्रमुख गोविन्द बहादुर महताराले अग्लो पूल भएको र नयाँ माटो हालिएको कारणले सडक भासिएको बताउनु भयो । उहाँले मर्मत सम्हारको अवधि भित्रै भएको हुनाले सडक निर्माणका लागि निर्माण कम्पनीलाई चिठ्ठि पठाईसकिएको बताउनु भयो । निर्माण कम्पनीले छिट्टै नै सडक निर्माण गर्ने प्रतिवद्धता जनाएको बताउँदै तत्कालका सडक अझ नभत्कियोस भनेर सुरक्षा उपाय अपनाउने बताउनु भयो ।








