ज्ञानेन्द्र पोखरेल, बढैयाताल । बर्दियाको बढैयाताल गाउँपालिकाका स्थानीयले गाउँमा सुरक्षा जोखिम बढ्दै गएको भन्दै रातभर गाउँको गस्ती गर्न थालेका छन् । जेनजीको आन्दोलन पश्चात् सुरक्षा जोखिम बढ्दै गएको भन्दै मैनापोखर, भोलागौडी, सिमरा लगायतका स्थानमा स्थानीयले रातभर गस्ती गर्न थालेका हुन् ।
चोरी डकैती हुने डरले ‘आफ्नो सुरक्षा आफैं गरौँ’ भन्दै मैनापोखर बजारबाट सुरु भएको रात्री गस्ती अहिले गाउँ गाउँ सम्म पुग्न थालेको छ । हाल बढैयाताल गाउँपालिकाका वडा नं ३ र ६ मा रात्री गस्ती चलिरहेको बढैयाताल गाउापालिका वडा नं ६ का प्रेमराज त्रिपाठीले बताउनु भयो । उहाँले सुरक्षाकर्मीहरूसँग बैठक बसेर उहाँहरू कै समन्वयमा रातभरी गस्ती गर्न थालिएको बताउनु भयो । स्थानीयबासीले आलोपालो गरेर गाउँमा रातभर गस्ती गर्ने गरेको उहाँले बताउनु भयो । रात्री गस्तीको विवरण हरेकदिन प्रहरीलाई दिने गरेको बताउनु भयो ।
चाडबाडको समय भएको र भारतीय सिमानाको नजिक भएको हुनाले पनि चोरी डकैती बढ्न सक्ने हुनाले गस्ती गर्न थालेको बढैयाताल गाउँपालिका वडा न. ३ भोलागौडीका मुकुन्द शमाले बताउनु भयो । उहाँले पहिले यो समयमा चोरी हुने गरेपनि अहिले चोरी डकैती हुने क्रम रोकिएको बताउनु भयो । “गाउँमा कोही नयाँ मान्छे आयो भने सबैले निगरानी गर्न थालेका छौँ” उहाँले भन्नु भयो “यसलाई चाडबाड नसकिँदा सम्म निरन्तरता दिने छौँ ।”
जेनजी आन्दोलन पछि स्थानीय समुदायमा त्रास फैलिएको थियो । व्यापारी, उद्योगी, व्यवसायी कार्यकर्ता मा त्रसित बनेका थिए । केही समय प्रहरीलाई बाहिर निस्कन गाह्रो भएको समय देखि नै स्थानीयले गस्ती सुरु गरेका थिए । रात्री गस्ती गर्ने टोलीको नामावली र निर्णय समेत उपलब्ध गराएर स्थानीयले गस्ती सुरु गरेको इलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरिक्षक राजेश कुमार शाहूले बताउनु भयो । उहाँले स्थानीयले गस्ती गर्दा प्रहरीलाई झन् सहज भएको बताउनु भयो ।








