यज्ञप्रसाद सापकोटा
बर्दिया । केरा खेतीको लागि उत्कृष्ट बन्दै गएको बर्दिया जिल्लामा बजार व्यवस्थापन नहुँदा किसानहरू मर्कामा परेका छन् । केरा खेतीमा आत्मनिर्भर बन्दै बाँके सुर्खेत दाङ्ग लगाएतका जिल्लामा निर्यात गर्न सक्षम बर्दिया किसानहरू हाल केराले बजार मुल्य नपाउँदा मर्कामा परेका हुन् ।
सिजन र चाडबाडको समयमा भारतीय केरा अत्याधिक आयात हुँदा नेपाली केरा बिक्न छोडेको हो । केरा बिक्न छोडेपछि किसानहरू न्यून मुल्यमा केरा बेच्न बाध्य भएका छन् । मुल्यको पर्खाईमा कतिपय कृषकको केरा बारी मै कुहिन थालेको छ ।
गत बर्ष कृषकहरूले प्रति क्रेट (१० दर्जन) चार सय ५० रुपियाँ सम्ममा केरा बिक्रि गरेका थिए । यस बर्ष प्रति क्रेट तीन सय ५० रुपियाँमा बिक्रि गर्न बाध्य भएका छन् । भारतीय अत्याधिक बिषादी हालेको केरा सस्तो मुल्यमा बजारमा आएपछि नेपाली केरा बिक्न छाडेको केरा व्यवसायी टिका सम्सेलीले बताउनु भयो । “गत वर्ष राम्रो मुल्यमा केरा बिकेको थियो यस वर्ष बढ्ला भन्दा झन् घटेको छ । ” उहाँले भन्नु भयो –“यस वर्ष त मुल्य बढ्ला भनेको झन् घट्यो । अहिले बारी मै केरा पाकेर कुहिन थालेपनि व्यापारीहरू खरिद गर्न नआएको बताउनु भयो । ”
गत वर्षको तुलनामा यस वर्ष केरा बिक्रि कम भएको केरा व्यवसायी शम्भुप्रसाद अधिकारीले बताउनु भयो । जेन जीको आन्दोलनले पनि केरा खरिदविक्रिमा समस्या बनाएको उहाँले बताउनु भयो । दशैँ तिहार सम्म केरा बिक्रि नभएमा किसानहरूको लगानी डुब्ने उहाँले बताउनु भयो ।
बर्दिया जिल्लामा केरा जोन कार्यक्रम लागु भएपछि करिब पाँच सय हेक्टर क्षेत्रफलमा केरा खेती हुँदै आएको छ । बार्षिक १५ हजार मेट्रिक टन केरा उत्पादन हँुदै आएको छ । हाल बर्दिया जिल्लामा करिब सात सय घरपरिवार केरा खेतीमा संलग्न रहेका छन् । बर्दियामा बार्षिक ४० करोड बराबरको केराको कारोबार हुने गरेको केरा व्यवसाय संघ बर्दियाका अध्यक्ष टोपलाल बि.क.ले बताउनु भयो । आगामी मंसिर महिना सम्मको लागि बर्दिया कैलाली र बाँकेमा पर्याप्त केरा भएपनि भारतबाट आउँदा नबिकेको अध्यक्ष विकले बताउनु भयो । केराको सिजनको समयमा भारतबाट केरा आयात गर्न रोक्नुपर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालय देखि अर्थ मन्त्रालय सम्म ज्ञापन पत्र बुझाउँदा समेत समस्या समाधान नभएको उहाँले बताउनु भयो ।
बर्दियामा हाल केरा खेती बिस्तार सँग व्यवस्थीत हुँदै गएको छ । केरा पकाउने र स्टोर गर्न मिल्ने च्याम्बर, टिस्युकल्चर केरा नर्सरी, केराको थम्बाबाट रेसा निकाल्ने उद्योगहरू स्थापना भएका छन् ।








