गेरुवा । गत सोमबार गोहीको आक्रणबाट बेपत्ता भएका गेरुवा गाउँपालिका–२ राजीपुरका २५ वर्षीय विवश थारूको अवस्था अझै अज्ञात छ । भैँसीलाई पानी खुवाउन कर्णाली नदी छेउमा गएका थारू हाल सम्म पनि फेला पर्नुभएको छैन ।
६ दिनदेखि नदीमा बेपत्ता उहाँको खोजीमा दुई वटा हात्ती र मोटरबोट परिचालन गरिएको छ । निकुञ्जबाट दुई वटा हात्ती परिचालन गरिएको निकुञ्जका सूचना अधिकारी एवं वरिष्ठ संरक्षण अधिकृत सरोजमणि पौडेलले बताउनु भयो । उहाँले भन्नु भयो –“थारुको अवस्था हाल सम्म अज्ञात रहेको छ, उद्धार कार्यका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, निकुञ्जका कर्मचारी र स्थानीयवासी खटिएका छन् ।”
भैंसीलाई पानी खुवाउन गएका बेला थारुलाई गोहीले आक्रमण गरेको थियो । उहाँ सँगै गएका अन्य तीन जना सकुशल रहेका छन् । बर्दियाको गेरुवा, कर्णाली, बबई लगायत नदीमा गोहीको बासस्थान रहेको छ । नदीमा गोहीले आक्रमण गर्न सक्ने भन्दै नदीमा नजान निकुञ्जले आग्रह गरेको छ ।








