ज्ञानेन्द्र पाेखरेल ,बढैयाताल। ४५ औँ विश्व खाद्य दिवसका अवसरमा बढैयातालमा आयोजित एक कार्यक्रममा खाद्य सुरक्षाको अधिकारलाई व्यवहारमा रूपान्तरण गर्न सबै सरोकारवालाको साझा प्रयास अपरिहार्य रहेको कुरामा जाेड दिइएकाे छ । कार्यक्रममा सहभागी अतिथिहरुले खाद्य सुरक्षा सँग सँगै सुरक्षित खाद्य पदार्थका लािग सबै सचेत हुनपर्ने बताएका छन् । मैगर सामुदायिक सस्था, मैगर कृषि सहकारी संस्था लि लगायतका सङ्घ संस्थाहरूको आयोजनामा गरिएको ४५ औ विश्व खाद्य दिवस कार्यक्रममा लोप हुन लागेका रैथाने बालीहरु को प्रर्वद्धन तथा संरक्षणको लागि सबै एक हुनु पर्ने कुरामा जोड दिइएको थियो ।

कार्यक्रममा बोल्दै कार्यक्रम का प्रमुख अतिथि बढैयाताल गाउपालिका उपाध्यक्ष लक्ष्मी अधिकारीले विश्वमा वर्षेनी लाखौको सङ्ख्यामा भोकमरीबाट मर्ने भएकोले पोषणयुक्त, सुरक्षित र पर्याप्त खाद्य अधिकार सुनिश्चितताको लागि सबै तहका सरकारको ध्यान जानुपर्ने कुरा जरुरी रहेको बताउनुभयो ।उहाँले भन्नु भयाे “हाम्रो देशमा अझै पनि पाँच वर्षमुनिका करिब २५ प्रतिशत बालबालिका पोषण युक्त खाद्य अभावका कारण कुपोषणको शिकार छन्। ग्रामीण क्षेत्रमा पौष्टिक आहाराको पहुँच अझै सीमित छ।” उहाँले खाद्य सुरक्षाको सुधारका लागि उत्पादन प्रणाली सुदृढीकरण, भण्डारण, बजार सञ्जाल विस्तार, र पोषणयुक्त बाली उत्पादनमा जोड दिनुपर्ने कुरामा सबैको ध्यान जानुपर्ने बताउनु भयाे । जैविक खेती तर्फ जाेड दिँदै गाउँपालिकाले पनि विषादी प्रयाेगलाइ न्युनीकरण गर्ने नीति ल्याउने बताउनु भयाे ।

कार्यक्रममा बढैयाताल कृषि शाखाका प्रमुख दिपेन्द्र श्रीवास्तवले बढैयाताल गाउँपालिका भित्र आफ्नै उत्पादन ले पुग्ने भएता पनि देशै भरी अझै पनि खाद्य समस्यामा लाखौ जनता रहेको कुरा बताउनु भयाे । यसैगरि शून्य भोकमरी (Zero Hunger) लक्ष्य प्राप्तिका लागि दीर्घकालीन कृषि नीतिहरू, कृषि पूर्वाधारमा लगानी, तथा नवप्रवर्द्धनका प्रविधिको प्रयोगलाई आवश्यक बताउनु भयाे । उहाँले भन्नु भयाे “खाद्य सुरक्षा र पोषण सुरक्षामा स्थानीय सरकार, निजी क्षेत्र, सहकारी संस्था र किसानबीचको साझेदारी नै दीर्घकालीन समाधान हो।”
उनले मुलुकमा उत्पादन बढाउन, कृषकलाई बजारमा पहुँच दिलाउन, तथा ‘खाद्य प्रणाली रूपान्तरण’ मा ध्यान केन्द्रित गर्न वडा नं ८ का अध्यक्ष तेजनाथ पौडल वडा नं ९ का अध्यक्ष विर बहादुर थारू लगायतका बक्ता हरुले आग्रह गरेका छन् । “यो दिवसले हामी सबैमा स्वदेशी उत्पादनमा भरोसा बढाउने, कृषकको श्रमको कदर गर्ने, र आत्मनिर्भर खाद्य प्रणाली निर्माण गर्ने प्रेरणा दिन्छ। खाद्य सुरक्षाको सुनिश्चितताका लागि सबै तहका सरकार र नागरिकको संयुक्त प्रयास आवश्यक छ।”

यस कार्यक्रममा खाद्य बाली तथा तरकारी मा अत्याधिक असुरक्षित विषादीको प्रयोग ले बालवालिकाहरुमा जटिल समस्याहरु देखिएकोले विषादीहरु को प्रयोग बालवालिका को पहुँच देखी टाढा राख्नुपर्ने भन्दै सरोकारवाला संघ संस्थाहरुले बढैयाताल गाउपालिका उपाध्यक्ष मार्फत स्थानिय सरकारलाई ध्यानाकर्षण पत्र बुझाएका थिए । विद्यालय वरपर विषादीकाे प्रयाेगमा राेक लगाउनु पर्ने ध्यानाकर्षण पत्रमा उल्लेख गरिएकाे थियाे । विद्यालय वरपर विषादी प्रयाेगमा राेक लगाउनका लागि प्रतिवद्धता सहित हस्ताक्षर कार्यक्रम सञ्चालन गरिएकाे थियाे । कार्यक्रममा बढैयाताल वडा नं ५ मा रहेको मैगर कृषि सहकारी संस्था ले रैथाले बाली तथा उत्पादनहरु को स्टल समेत प्रदर्शनी मा राखेको थियो । कार्यक्रम मैगर कृषि सहकारी का अध्यक्ष किसनी कुमारी चौधरीको सभापतित्व मा भएको थियो ।








