ठाकुरबाबा । ठाकुरबाबा नगरपालिकाले स्थानीय पर्यटन, व्यवसाय र पर्यावरणका चुनौती तथा सम्भावनाहरू पहिचान गरी दिगो विकासको कार्यदिशा तय गर्न सरोकारवालाहरूसँग खुला छलफल तथा अन्तरक्रिया गरेको छ ।
अन्तरक्रियामा स्थानीय विकासलाई प्रत्यक्ष असर पार्ने विभिन्न संवेदनशील विषयहरूमाथि गहन छलफल गरिएको प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालले बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत रिजालका अनुसार पछिल्लो समयमा ध्वनि प्रदुषणले मानव स्वास्थ्यमा पारेको प्रभाव र बर्दियाको प्रमुख आकर्षणको रुपमा रहेको पर्यटन क्षेत्रमा पारेको नकारात्मक असर, पर्यावरणीय संवेदनशीलता, पर्यटन व्यवसायको दिगोपना, मानव वन्यजन्तुद्वन्द लगायतका विषयहरुमा अन्तरक्रिया केन्द्रित रहेको थियो ।
अन्तरक्रियामा पुरातात्त्विक महत्त्वको ठाकुरद्वारा मन्दिरको संरक्षण र यसको संवेदनशीलतालाई ध्यानमा राखेर गरिनुपर्ने कार्यहरू, मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि सामुदायिक सहभागितामा आधारित समाधान, सामुदायिक वनमा सफारी सञ्चालनको व्यवस्थित मापदण्ड निर्धारण र स्वस्थ तथा शान्तिपूर्ण होटल व्यवसाय प्रवर्द्धन गर्ने विषयमा बृहत् छलफल गरिएको नगर उपप्रमुख बिनाकुमारी भट्टराईले बयाउनुभयो । उपप्रमुख भट्टराईका अनुसार वनभोजस्थलको उपयुक्तता र सांस्कृतिक डबली सञ्चालनका लागि स्पष्ट कार्यविधि बनाउने लगायतका विषयमा पनि छलफल केन्द्रित रहेको थियो ।
अन्तरक्रियामा सहभागी ठाकुरबाबा उद्योग बाणिज्य संघका महासचिव गोपाल निरौलाले ठाकुरबाबालाई पर्यटकीय नगरको रूपमा विकसित गर्न नगरको सिमानामा प्रवेश गर्दा नै आगन्तुकहरुलाई पर्यटकीय क्षेत्रमा प्रवेश गरेको अनुभूति गराउन सक्नुपर्ने बताउनुभयो । कुनै एक क्षेत्रलाई मात्र प्राथमिकतामा राखी अघि बढ्दा समग्र र दीर्घकालीन रूपमा पर्यटनको विकास सम्भव नहुने बताउँदै मानवीय विपद् वा आपतकालीन अवस्थामा जोखिम न्यूनीकरणका लागि एम्बुलेन्स र दमकल जस्ता सेवा प्रयोग गरिए जस्तै वन्यजन्तु र मानवबीच हुने जोखिमलाई न्यूनिकरण गर्न वन्यजन्तु नियन्त्रणका लागि पनि विशेष सवारी साधन तथा विशेषज्ञ प्राविधिक टोलीको तत्काल प्रयोग गर्नसकेमा केही हदसम्म जोखिम न्यूनीकरण गर्न सकिने धारणा राख्नुभयो ।
ठाकुरबाबा नगरपालिका वा सम्बन्धित निकायले वन्यजन्तु नियन्त्रणका लागि आवश्यक उपकरणको व्यवस्थापन, तालिम प्राप्त जनशक्ति र सवारी साधनको व्यवस्था गर्नुपर्ने आवस्यकता रहेको ठाकुरबाबा उद्योग बाणिज्य संघका महासचिव निरौलाले बताउनुभयो । निरौलाले भन्नुभयो "समयमै प्राविधिक हस्तक्षेप हुनसके मानव र वन्यजन्तुबिचको द्वन्द्व घट्नेछ, र सहअस्तित्वमा आधारित दिगो पर्यटन र पर्यावरणीय सन्तुलन कायम राख्न सहयोग पुग्नेछ।" कार्यक्रममा सहभागी बर्दिया राष्ट्रिय निकुञ्ज, मध्यवर्ती वन समिति, ठाकुरबाबा उद्योग वाणिज्य संघ, होटल एसोसिएसन बर्दिया, बडघर संजालका प्रतिनिधि, पर्यटन व्यवसायी लगायत सबै सरोकारवालाहरूले नगरपालिकाको दिगो पर्यटन र पर्यावरण मैत्री विकासको योजनालाई सफल बनाउन सक्रिय सहभागिता र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अन्तरक्रियाबाट प्राप्त सुझाव र निष्कर्षलाई आधार मानेर आगामी दिनमा ठोस नीति तथा कार्यक्रमहरू तर्जुमा गरिने नगरप्रमुख तिलकराम लम्सालले बताउनुभएको छ । ठाकुरबाबा नगरपालिका-९ मा रहेको सांस्कृतिक डबलीमा कार्यक्रमको आयोजना गरिएको थियोे ।








