ठाकुरबाबा । ठाकुरबाबा नगरपालिकाको आर्थिक वर्ष २०८१/८२ को सामाजिक परीक्षण सम्पन्न भएको छ । आर्थिक वर्ष २०८१/८२ को सामाजिक परीक्षण अन्तरगत मस्यौदा तथा अन्तिम प्रतिवेदन प्रस्तुती र छलफल कार्यक्रम सम्पन्न भएको हो । सामाजिक परीक्षण समुदायले महसुस गरेको उपलब्धि, अनुभव, बुझाई र दृष्टिकोण थाहा पाउने एक प्रजातान्त्रिक प्रक्रिया हो ।
ठाकुरबाबा नगरपालिकाको आयोजना तथा बर्दिया टाइगर नेटवर्कको सहजीकरणमा आज एक औपाचारिक कार्यक्रमको आयोजना गरी सामाजिक परिक्षणको मस्यौदा तथा अन्तिम प्रतिवेदन प्रस्तुतीकरण कार्यक्रम सम्पन्न गरिएको प्रमुख प्रशासकीय अधिकृत रामहरी रिजालले बताउनुभयो । सेवा प्रदान गर्ने क्रममा प्राप्त उपलब्धि र परिवर्तन तथा सुधारात्मक पक्षहरुको तेस्रो पक्षद्वारा लेखाजोखा गरी यथार्थ विवरण सार्वजनिक गर्दै समीक्षात्मक निष्कर्ष निकाल्ने र सुधारको पक्षमा जिम्मेवारी सहितको कार्ययोजना समेत तयार गर्ने उद्देश्यले नगरपालिकाको सामाजिक परीक्षण गरिएको सहजकर्ता कृष्णप्रसाद गौतमले जानकारी दिनुभयो ।
कार्यक्रममा नगरपालिकाको लक्ष्य तथा प्राथमिकताहरु, गत वर्षको मुख्य उपलब्धिहरु, चालु आर्थिक वर्षका मुख्य उपलब्धिहरु, समाजिक जिम्मेवारी र कार्य सम्पादनको लेखाजोखा लगायतका विषयमा छलफल गरिएको छ । सामाजिक परिक्षणको मस्यौदा तथा अन्तिम प्रतिवेदन माथि छलफलगर्दै गत वर्षमा भोगेका समस्याहरु, प्रमुख उपलब्धिहरु तथा सुधारका लागि चाल्नुपर्ने कदमहरुको बारेमा सहभागीहरुले सुझाव दिएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नगरप्रमुख तिलकराम लम्सालले सामाजिक विकास र आर्थिक विकासलाई प्राथमिकता दिएर पालिका अघि बढिरहेको बताउनुभयो । शिक्षा र स्वास्थ्य क्षेत्रको समग्र विकासका लागि नगरपालिका लागि परेको बताउनुभयो । उपप्रमुख बीनाकुमारी भट्टराईले नगरपालिकामा देखिएका समस्याहरुलार्ई सकारात्मक तरिकाले औल्याइएको खण्डमा सुधार गर्न सकिने बताउनुभयो ।
ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख तिलकराम लम्सालको अध्यक्षतामा नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्षहरु, विषयगत शाखाका प्रमुखहरु, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, कर्मचारीहरु लगायतको सहभागीता रहेको थियो । सामाजिक परिक्षणको मस्यौदा तथा अन्तिम प्रतिवेदन प्रस्तुतीकरण र छलफल कार्यक्रमलाई बर्दिया टाइगर नेटवर्कले सहजिकण गरेको हो ।








