यज्ञप्रसाद सापकोटा, बर्दिया ।
बर्दियाको ठाकुरबाबा नगरपालिककाले सञ्चालन गरेको ठाकुरबाबा नगरअस्पतालमा आँखा उपचार सेवाको सुचारु भएको छ । अस्पतालले नेपाल रेडक्रस सोसाइटि जिल्ला शाखा बर्दियाको सहकार्यमा आँखा उपचार सेवा सुरु गरेको हो ।
सेवा सुचारु गरेको पहिलो दिन आँखा उपचार शिविर सञ्चालन गरेको छ । शिविरमा तीन सय ९९ जनाको आँखा चेक जाँच गरिएको छ । भने एक सय ११ जनामा मोतियाविन्दुको समस्या देखिएको छ । मोतिया विन्दुको निःशुल्क शल्यक्रियाको लागि शिवगंगा आँखा अस्पताल गुलरियामा रेफर गरिएको ठाकुरबाबा नगरअस्पतालका अध्यक्ष भावुक योगीले बताउनु भयो । उहाँले शल्यक्रियाको लागि गुलरिया लैजाने र निःशुल्क शल्यक्रिया गराउने बताउनु भयो ।
नगरअस्पतालमा आँखा उपचार सेवा सुचारु भएपछि ठाकुरबाबा नगरपालिकाबासी लाभान्वित हुने भएका छन् । आँखाको उपचारका लागि गुलरिया र नेपालगञ्ज जानुनपर्ने भएको ठाकुरबाबा नगरपालिका वडा नं १ भुरिगाउँका नेत्रलाल चौधरीले बताउनु भयो । उहाँले आँखाको धेरै समस्या देखिने जेष्ठनागरिकहरू नगरबाट टाढा जानुपर्ने बाध्यता हटेकोमा खुसी व्यक्त गर्नु भयो ।

१५ शैयाको ठाकुरबाबा नगरअस्पताल गत बैशाख देखि सुविधा सम्पन्न भवनबाट सञ्चालन भएको थियो । अस्पतालबाट २४ सै घण्टा आकस्मिक कक्ष, बहिरंग सेवा, अन्तरंग सेवा, शल्यक्रिया कक्ष, गुणस्तरीय ल्याव, भेन्टिलेटर सहित सर्प दंशको उपचार सेवा, निःशुल्क शव वाहन तथा शव चिस्यान सेवा, रक्तसञ्चार सेवा सञ्चालनमा रहेको छ । गत साउन मसान्त सम्म १३ हजार ६ सय १९ जना बिरामीलाई सेवा दिन सफल भएको छ । जसमा १२ हजार ६७ जना बहिरङ्ग, एक हजार एक सय ३५ जना इमरजेन्सी, ७१ जना अन्तरङ्ग सेवा, रेबिज विरुद्धको भ्याक्सिन दुई सय ८९ जना र विष सेवन गरेका १७ जनाको उपचार भएकोे अस्पतालका सूचना अधिकारी सुरेश चौधरीले बताउनु भयो । विकट क्षेत्रमा भवन निर्माण गरेर सेवा दिन थालेपछि पछिल्लो समयमा सेवाग्राहीको संख्या बढ्दै गएको उहाँले बताउनु भयो ।
ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख तिलक लम्सालले अस्पतालमा एमडिजिपि डाक्टर राखेर नगरपालिकाका सबै वर्थिङ्गसेन्टरलाई एकिकृत गरि नगरअस्पतालमा शल्यक्रिया सहितको वर्थिङ्गसेन्टर सञ्चालन गर्ने योजना रहेको बताउनु भयो । उहाँले भन्नु भयो –æअब नगरवासीलाई १५ शैयाको अस्पतालले दिन सक्ने सेवा लिन बाहिर जानु नपर्ने बनाउँछौँ । Æ हाल अस्पतालमा दुई जना चिकित्सकले सेवा दिइरहेका छन् ।
अस्पतालका अध्यक्ष योगीले भाद्र महिना भित्र नै दाँत उपचार सेवा सुचारु गर्ने जानकारी गराउनु भएको छ । जनतालाई आवश्यक पर्ने आधारभुत सेवांका लागि नगरपालिका भन्दा बाहिर जानु नपर्ने अवस्था सिर्जना गर्ने योजना रहेको उहाँले बताउनु भयो ।
फोटो ः नगरअस्पतालमा आँखाको जाँच गराउँदै बिरामीहरू








