कास्की : प्रत्येक वर्षको आर्थीक मसान्तमा कारागारहरुमा चौकिदार परिवर्तन गर्ने नियमनै छ । सोही नियमअनुसार गृहमन्त्रालयले कास्की जिल्ला कारागारमा चौकिदार परिवर्तन गरेको छ । तर, जेलभित्रैबाट भित्र र बाहिर पनि गुण्डागर्दी चलाइरहेको एउटा समूह भने फलानो व्यक्ति चौकीदार हुनैपर्छ भन्दै नाराजुलुसमा उत्रिएको छ ।
नेपाली कांग्रेसका नेता रामजी पौडेल बादलको हत्या अभियोगमा जेल सजाय काटिरहेका प्रकाश गुरुङलाई चौकीदार बनाउनुपर्ने भन्दै उनीनिकटका कैदीहरु नारावाजी गर्ने, गृहमन्त्रीलाई पत्र पठाउने काम गरेपछि १६ कैदीलाई कारगार सरुवा गरिएको छ । चौकीदारका लागि अजय गुरुङ, प्रकाश गुरुङ र प्रवीण थापाको नाम सिफारिस गरिएको र कारागार विभागले अजय गुरुङलाई नियुक्त गरेको कारागार कार्यालयका सूचना अधिकारी महेन्द्र कुवरले बताए ।
चौकीदार नियुक्तिका २५ वर्ष पूरा भइ ६० वर्ष ननाघेको नेपाली नागरिक हुनुपर्ने, नाइके भएर काम गरिसकेको, शारीरिक तथा मानसिक हिसाबले स्वास्थ रहेको लेखपढ गर्न सक्ने, यसअघि चौकीदार नभएको, कम्तीमा एक वर्ष कैद भुक्तान गर्न बाँकी रहेकोलगायत मापदण्ड विभागले तोकेर पठाएको थियो । तर, प्रकाश गुरुङ यसअघि नै एक कार्यकाल चौकिदार रहिसकेका छन् । उसो त चौकिदार नियुक्तिमा राजनीतिक चलखेल भयो भन्ने बहाना बनाएपनि स्वयं यो समूहले नै राजनीसितक चलखेल गर्न खोजेको अर्को पक्षको दाबी छ ।
नेपाली कांग्रेसको अनुशासन समितिले कारवाही सिफारिस गरेका कृष्णबहादुर केसीले उनलाई चौकीदार बनाउन गृहमन्त्रीसम्म कुरा पुर्याएको स्रोतको दाबी छ । अहिले कास्की कांग्रेस सभापति किशोर बराल र केसीबिचको विवाद सामाजिक सञ्जालमा छताछुल्ल छ ।
यसरी भयो विवाद समाधान
कास्कीक जिल्ला कारागारमा केही दिन यता नारावाजी गर्ने र होहल्लामा संलग्नमध्ये १६ जनालाई कारागार सरुवा गरिएको छ । ५ जना भिम फेदी मकवानपुर , १ जना तनहुँ दमौली १० जना कास्की कारागार ख बल्क मा सारिएको छ । प्रकाश गुरुङलाई तनहुँको दमौली सरुवा गरिएको छ । यो सँगै कास्की कारागारमा उत्पन्न विवाद साम्य भएको छ ।








