बगनाहा (बर्दिया) । ठाकुरबाबा नगरपालिका-६, बकुवामा रहेको जनज्योती माध्यमिक विद्यालयल ३ तारे विद्यालय घोषित भएको छ । वाटर एड नेपालको आर्थिक तथा नेपाल प्रजनन् स्याहार केन्द्र र राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालको प्राविधिक सहयोगमा बेस बर्दिया मार्फत सञ्चालित परियोजना अन्तरगत जनज्योती माध्यमिक विद्यालय ३ तारे विद्यालय घोषित भएको हो ।
विद्यालयले खानेपानी, सरसफाई तथा स्वच्छता सम्बन्धी १० वटा सूचक पुरा गरेपछि ठाकुरबाबा नगरपालिका सामाजिक विकास समितीबाट प्रमाणिकरण भई बुधबार एक कार्यक्रमका बीच विद्यालयलाई ३ तारे विद्यालय घोषणा गरिएको हो । ठाकुरबाबा नगरपालिका सामाजिक विकास समितिका संयोजक टेकबहादुर बडुवाल सिजापतिले विद्यालयलाई तीनतारे घोषणा गरियोस् भनी प्रस्ताव गरेसंगै ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख तिलकराम लम्सालले विद्यालयलाई तीन तारेको रूपमा घोषणा गर्नुभएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै ठाकुरबाबा नगरपालिका नगरप्रमुख तिलकराम लम्सालले विद्यालयलाई तीन तारेको रूपमा घोषणा गरिनु ठाकुरबाबा नगरपालिको खानेपानी, स्वच्छतामा धेरै कामहरु गरेको छ भन्ने एक उदाहरण भएको बताउनुभयो । उहाँले यसअघि वडा नम्बर १ डुम्रेनीमा रहेको जनचाहना आधारभूत विद्यालय तीन तारेको रुपमा घोषित भइसकेको स्मरण गर्दै आवस्यक सूचक पूरा गरेका नगरपालिकाका विद्यालयहरुलाई पनि तीन तारे घोषणा गरिने बताउनुभयो ।
ठाकुरबाबा नगरपालिकाले विद्यालयले खानेपानी, सरसफाइ तथा स्वच्छता सम्वन्धी कार्यविधि नै निर्माण गरेको छ । कार्यविधिमा खानेपानी, शौचालय, सफा, स्वच्छ तथा हरीयाली वतावरण, खानाको स्वच्छता, स्वच्छता सुविधा, स्वच्छता शिक्षा, महिनावारी स्वच्छता व्यवस्थापन सुविधा, संस्थागत व्यवस्था र दिगोपना, विपद् जोखिम व्यवस्थापन र अनुगमन तथा जवाफदेहिता सहितका १० वटा सूचक राखिएका छन् ।
ठाकुरबाबा नगरपालिकाको सामाजिक विकास समितिबाट प्रमाणित भएर ठाकुरबाबा नगरपालिकाको विद्यालय खानेपानी, सरसफाई तथा स्वच्छता कार्यविधि अनुरूप विद्यालय तीन तारे घोषित भएको हो । सो अवसरमा विद्यालयलाई ३ तारे घोषणा गर्न सहयोग पुर्याउने संघसंस्थाहरुलाई सम्मान समेत गरिएको छ ।








