बर्दिया ।
नेपाल कम्युनिष्ट पार्टी -एमाले) बर्दियाले पूर्व प्रधानमन्त्री एवं नेकपा -एमाले) का अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै बर्दियाको गुलरियामा विरोध र्याली गरेको छ । पूर्व प्रधानमन्त्री ओलीको रिहाइ र बहालवाला न्यायधिशको अध्यक्षतामा छानविन आयोग गठन गर्न माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको छ ।
ध्यानाकर्ष पत्रमा संघिय निर्वाचन पश्चात बनेको रास्वपा सरकारको मन्त्री परिषदको पहिलो निर्णयले पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रतिशोध पूर्ण रुपमा पक्राउ गरी मुलुकलाई द्वन्द्व र मुठभेडका दिशा तर्फ धकेल्न खोजेको उल्लेख गरिएको छ । पत्रमा भाद्र २३ र २४ गतेको घटनाको छाविनका लागि सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको अध्यक्षतामा छानविन आयोग गठन गर्न जोडदार माग गरेको छ ।
नेकपा एमाले बर्दियाले कम्युनिष्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलन माथिको नाङ्गो प्रहार र दमन सुरु भएको ठहर गर्दै घोर निन्दा र भत्सर्ना गरेको छ । ध्यानाकर्षण पत्र मार्फत गिरफ्तार गरिएका नेताहरूलाई विना सर्त तत्काल रिहा गर्न र प्रतिशोधपूर्ण कार्य बन्द गर्न सरकारको ध्यानाकर्षण गराएको नेकपा एमाले बर्दियाका अध्यक्ष शालिकराम अधिकारीले बताउनु भयो ।









